काठमाडौँ – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा नदिने बरु पार्टीले कारबाही गरे नयाँ पार्टी घोषणा गर्ने चेतावनी दिएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद थप जटिल मोडमा पुगेको छ ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल लगायतले ुवै पदबाट राजीनामा दिनुपर्ने माग गरिरहेका बेला ओलीले बरु पार्टी फुटाएर नयाँ पार्टी घोषणा गर्ने चेतावनी दिएपछि परिस्थितिले थप जटिल मोड लिएको हो ।
हिजो पार्टीका दुवै अध्यक्ष ओली र दाहालबीच झण्डै चार घण्टासम्म विवाद मिलाउनेबारे छलफल चलेको थियो । छलफलमा प्रचण्डले पार्टी एकता जोगाउनका लागि भए पनि दुवै पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको थियो । जवाफमा ओलीले बरु मलाई कारबाही गर्नुहोस् म नयाँ पार्टी घोषणा गर्छु भनेर चेतावनी दिनुभएको श्रोतले जनाएको छ ।
ओलीले बरु नयाँ पार्टी घोषणा गरेर अघि बढ्ने चेतावनी दिएपछि दाहाल नेपाल समूह अन्यौलमा परेको छ । आज खुमलटारमा बसेको उक्त समूहको बैठकले पार्टी फुट्न नदिने तर ओलीलाई जसरी पनि राजीनामा गराउन बाध्य पार्ने रणनीति अपनाउने निर्णय गरेको छ । पार्टी फुटाउने बाटोमा अघि बढे केपी ओली कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो अपराधी ठहरिने र उहाँलाई नेपाली जनताले माफी नदिने वरिष्ठ नेता झलनाथ खनालले चेतावनी दिनुभयो ।
पूवै प्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ नेता खनालले केपी ओली पार्टीका सबै निकायमा अल्पमतमा परिसकेकोले अब राजीनामा दिनुको विकल्प नरहेको बताउनुभयो । पार्टीको विधि र पद्धतिमा नचलेकै कारण अहिलेको संकट उत्पन्न भएको उहाँको आरोप छ । पार्टीले केपी ओलीलाई हटाउने निर्णय गरे त्यसलाई मान्दिन भन्न नपाईले उहाँले बताउनुभयो । पार्टीका निर्णयलाई लत्याएर हिँडे दुर्घटनामा परिने खनालको चेतावनी छ ।
पार्टी भित्रको विवाद चरमउत्कर्षमा रहेका बेला केपी ओलीले लिएको हठात संसद अधिवेशन अन्त्य गर्ने निर्णयलाई परिआए पार्टी फुटाउने कदमको पहिलो खुड्कीलोको रुपमा हेरिएको छ । कतिपयले विपक्षी पार्टीसँग मिलेर संसदमा बहुमत सावित गर्ने तयारी भित्रभित्रै ओलीले गरिरहेको दाबी गरिरहेका छन् । पार्टी फुटाएर आए बहुमतका लागि सहयोग गर्ने आश्वासन प्रमुख विपक्षी नेपाली कांग्रेसले ओलीलाई दिएको दाबी पनि गरिएको छ । तर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारुढ पार्टीको आन्तरिक जीवनमा कांग्रेसले खेलिरहेको आरोप गलत रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरुको घर भत्काएर आफ्नो घर बलियो हुन्छ भन्ने सोच दुर्भाग्यपूर्ण रहेको बताएपछि नेकपा विवादमा कांग्रेसको भूमिकाबारे थप चर्चा भइरहेको हो । यसैबीच विवादहरु उग्र बनेका बेला र पार्टीभित्र आफू चौतर्फी घेराबन्दीमा परेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्नुभएको छ ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीचको भेटवार्ता के विषयमा केन्द्रीत थियो भन्ने सार्वजनिक भएको छैन । त्यसपछि प्रधानमन्त्री ओली अहिले बालुवाटारमा सबै मन्त्री र राज्यमन्त्रीहरुसँग छलफल गरिरहनुभएको छ । शीतल निवासबाट फर्केलगत्तै सबै मन्त्री र राज्यमन्त्रीहरुसँग प्रधानमन्त्रीरले डाकेको छलफलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी भएका गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादल र ऊर्जामन्त्री वर्षमान पुन बैठकबाट बाहिरिएका छन् । उनीहरु बैठकस्थलबाट बाहिरिएपनि सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिएनन् ।
अहिले बालुवाटारमा सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको छ भने भित्र प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य मन्त्री तथा राज्यमन्त्रीसँग छलफल गरिरहेका छन् ।
छलफलअघि प्रधामन्त्रीले राष्ट्रपतिलाई भेटेका थिए । नेकपाभित्र विवाद उत्कर्षमा पुगेका बेला यो छलफलबाट निस्कने निष्कर्षलाई महत्वका साथ हेरिएको छ ।
यसैबीच प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी हुनुभएका गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादल र ऊर्जामन्त्री वर्षमान पुन बैठकबाट बाहिरिनुभएको छ । उहाँहरु बैठकस्थलबाट बाहिरिएपनि सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिनुभएन ।
अहिले बालुवाटारमा सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको छ भने भित्र प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य मन्त्री तथा राज्यमन्त्रीसँग छलफल गरिरहनुभएको छ ।from;radionrn