काङ्ग्रेस सोलुखुम्बुको बैठक सम्पन्न : सरकारी दमनप्रति आपत्ति (निर्णयको पूर्ण पाठ सहित)

हिमशिखर समाचारदाता/ सोलुखुम्बु । नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुको बैठक विभिन्न निणर्यहरु गर्दै सम्पन्न भएको छ । सभापति विनोदकुमार बस्नेतको सभापतित्वमा सदरमुकाम सल्लेरीमा भएको बैठकले सरकारी संयन्त्र मार्फत भएका दमनको विरोधदेखि पार्टीमा अनुशासन कायम गर्ने तथा पर्यटन क्षेत्रका समस्याको अध्ययन गर्ने लगायतका निर्णय गरेको छ ।

जिल्ला सचिव धनजन राईद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत सार्वजनिक भएको निर्णयमा विगत केही समयदेखि सोलुखुम्बुमा योजनाबद्ध ढङ्गले नियोजित रुपमा प्रहरी प्रशासनको आडमा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्तालाई विभिन्न अभियोग लगाई दुःख दिने, दमन गर्ने र झुटा मुद्दामा फसाउने कार्य समेत भइरहेकोप्रति काङ्ग्रेस सोलुखुम्बुले सम्बन्धित निकायहरुसँग घोर आपत्ति प्रकट गर्दै प्रहरी प्रशासनलाई कानूनको कार्यान्वयन निष्पक्ष रुपमा गर्न गराउनका लागि ध्यानाकर्षण गराएको छ । प्रशासनिक संयन्त्रहरुले एकतर्फी रुपमा काङ्ग्रेस नेता कार्यकर्तामाथि दमन गरिरहेकोमा मुकदर्शक नहुने चेतावनी दिँदै नेता कार्यकर्तालाई प्रतिवादको तयारीमा रहन निर्देशन गरेको छ ।

कोभिड १९ का कारण सुस्त रहेका पार्टी संगठनका सबै कार्यक्रमहरु सुचारु गर्न प्रदेश सभा क्षेत्रीय कार्य समितिहरु, नगर÷गाँउपालिका तहका कार्य समितिहरु, वडा कार्य समितिहरु, भातृ भगीनी संगठन तथा शुभेच्छुक संस्थाका समितिहरुलाई निर्देशन दिने, काङ्ग्रेस सोलुखुम्बुसँग सम्बन्धित केही व्यक्तिहरुले पार्टीको विधान, नियमावली, परम्परा, अनुशासन र मर्यादा विपरित पार्टी समितिका नाममा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको भनि सामाजिक सञ्जालहरुमा समाचार सम्प्रेषण भएकोमा ध्यानाकर्षण भएको भन्दै पार्टी सम्बद्ध व्यक्तिहरुलाई पार्टीको विधान, नियमावली, परम्परा, अनुशासन र मर्यादा विपरित गतिविधिहरु सञ्चालन नगर्न निर्देशित गर्दै जिल्ला अनुशासन समितिलाई आवश्यक छानविन गरी जिल्ला कार्य समिति समक्ष १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

बैठकले आर्थिक वर्षको अन्त्यमा आएर सरकारका सबै विकासे निकायहरु, निर्वाचन क्षेत्र विशेष कोषका रकमहरु रातारात खर्च गरी योजनाबद्ध ढङ्गले अनियमितता गरिरहेकोप्रति नेपाली काँग्रेस सोलुखुम्बुको गम्भीर ध्यानाकर्षण भएको भन्दै जिल्लाभित्र सञ्चालन भएका सम्पूर्ण विकास निर्माण कार्यहरुका खर्चको पारदर्शी निरीक्षण र छानविनका लागि सम्बन्धित निकायहरुलाई अनुरोध गर्ने साथै पार्टीले पनि आफ्नो सांगठनिक संयन्त्रमार्पmत अनुगमन मूल्याङ्कन सहित सूचना संकलन गरी छलफल भएको छ ।

सरकार र सरकारमा बस्ने सबै साझा हुनुपर्नेर्मा स्थानीय तहबाट प्रवाह गरिने सेवा सुविधाहरुमा राजनीतिक आस्थाका आधारमा विभेद गरिएको जनगुनासो बढेकाले आपत्ति प्रकट गर्दै सबै स्थानीय तहको ध्यानाकर्षण गराउने, कोभिड १९ सँग सम्बन्धित रहेर गरिएका राहत तथा उद्दार लगायतका कार्यहरुमा सबै तहका सरकारी निकायहरुबाट भएको सम्पुर्ण खर्च विवरण तुरुन्त सार्वजनिक गर्न स्थानीय तह लगायतका सबै सरकारी संयन्त्रहरुको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

त्यस्तै, मुख्य आम्दानीको मुख्य स्रोत पर्यटन भएको पर्यटकीय जिल्ल सोलुखुम्बुमा वर्तमानमा कोभिड १९ का कारण पर्यटन व्यवसाय नराम्रोसँग प्रभावित भएकाले यसको प्रभाव अध्ययन गरी पार्टीले आगामी दिनमा उठाउनु पर्ने मुद्दाहरु तयार गर्न टानका प्रथम उपाध्यक्ष चोलेन्द्रबहादुर कार्कीको संयोजकत्वमा ११ सदस्यीय अध्ययन समिति गठन गरेको छ । सदस्यमा पर्यटन व्यवसायीहरु आङदावा शेर्पा, देण्डी शेर्पा, हस्तबहादुर थापामगर (दिप), दावाफिन्जो शेर्पा, नविन कार्की, शेरबहादुर मगर, दिप राई, फुनुरु शेर्पा, मनकुमार तामाङ र भीमबहादुर कामी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार