केपी ओलीको दूत बनेर सुवास नेम्वाङ देउवाको दैलोमा

पार्टीभित्रको विवादले सत्ता संकट गहिरिँदै जान थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी नेपाली कांग्रेससँग सत्ता साझेदारीको प्रस्ताव गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई बालुवाटारमै बोलाएर सत्तासाझेदारीका लागि प्रस्ताव गर्नुभएको खुलासा भएको हो ।

आफूलाई पदबाट हटाउन खोजिए पार्टी विभाजन गर्न समेत पछि नहट्ने तयारीस्वरुप प्रधानमन्त्रीले कांग्रेसलाई साझेदारीको प्रस्ताव गरिरहनुभएको श्रोतले बताएको छ । त्यसकै तयारी स्वरुप प्रधानमन्त्रीले आज आफ्ना विश्वास पात्र सुवास नेम्वाङलाई देउवासँग कुराकानी गर्न बुढालिनकण्ठ पठाउनुभएको थियो । भेटमा नेम्वाङले सत्ता साझेदारीका लागि प्रधानमन्त्रीको प्रस्तावसहितको सन्देश सभापति देउवालाई सुनाउनुभएको कांगेस नेताहरुले बताएका छन् ।

आफूलाई नेम्वाङमार्फत आएको प्रस्तावबारे सभापति देउवाले आजै बसेको केन्द्रीय समितिको बैठकलाई जानकारी गराउनुभएको बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयो । सो क्रममा देउवाले प्रधानमन्त्रीसँग बालुवाटारमा भएको कुराकानीबारे पनि बेलीबिस्तार लगाउनुभएको उहाँले बताउनुभयो ।

यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवाले आफू सात पटक प्रधानमन्त्री बन्ने ज्योतिषीको भविष्यवाणीको प्रसंग फेरि कोट्याउनुभएको छ । पार्टी केन्द्रीय समितिको बैठकमा देउवाले यसबारे बिफ्रिङ गर्नुभएको हो । नेम्वाङले सत्ता साझेदारीका लागि साथ दिन प्रधानमन्त्रीले पठाएको सन्देश सुनाएपछि सात चोटी प्रधानमन्त्री बन्छस् भन्ने ज्योतिषीको भविष्यवाणी पुग्छ कि के हो भनेर जवाफ फर्काएकोबारे देउवाले केन्द्रीय समितिमा जानकारी दिनुभएको नेता विश्वकर्माले बताउनुभयो ।

२०७४ साल कार्तिकमा धनगढीमा प्रेस युनियन कैmलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले आफूलाई ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्छस् भनेको बताउनुभएको थियो । सत्ताधारी पार्टी नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विवादले ओली सरकार संकटमा परेका बेला देउवाले आफूलाई ज्योतिषले सात पटक प्रधानमन्त्री बन्ने भनि गरेको भविष्यवाणीको प्रसंग कोट्याउनुभएको हो । तर यता नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले कांग्रेस सभापति देउवालाई सत्ता साझेदारीका लागि कुनै प्रस्ताव नगरेको दाबी गर्नुभयो । नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै नेम्वाङले समसामयिक विषयबारे प्रतिपक्षी दललाई जानकारी गराउनुबाहेक सत्ता साझेदारीबारे कुनै कुराकानी नभएको जिकिर गर्नभुयो ।

केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने अर्का अध्यक्ष प्रच्ण्डसहितका नेताहरुको माग छ । तर दुवै पदबाट राजीनामा नदिने बरु छुट्टै पार्टी घोषणा गर्ने चेतावनी ओलीले दिनुभएको छ । दुवै पक्ष आ–आफ्नो अडानमा टसमस नभएपछि पार्टी फुट्न सक्ने सम्भावना प्रबल बन्दै गएको छ । हिजो साँझ मन्त्रीहरुलाई बालुवाटार बोलाएर ओलीले पार्टी फुट्न सक्ने आशय व्यक्त गर्दै आ–आफ्नो कित्ता क्लियर गर्न निर्देशन दिनुभएको थियो । आज दिउँसो बालुवाटारमा बसेको बैठकले दुवै अध्यक्षबीच भोलि स्थायी समिति बैठकअघि फेरि छलफल गर्ने सहमति भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार