कोरोनाको असर नभएको ठाउँमा विद्यालय खोल्ने तयारी

सरकारले कोरोना भाइरस (कोभिड–१९) को असर नभएको ठाउँमा विद्यालय खोल्ने तयारी गरेको छ । सामाजिक दुरी कायम गरेर सार्वजनिक यातायात खुलाउने निर्णय गरेसँगै सरकारले बन्द रहेका विद्यालय पनि खुलाउने तयारी गरेको हो । 

‘शैक्षिकसत्र चलाउने विषयमा छलफल सुरु भएको छ,’ शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक डा.तुलसी थपलियाले भने, ‘जोखिम नभएको र स्वास्थ्य संकट नआउने भयो भने विद्यालय खोल्न सकिन्छ ।’

विद्यालय कसरी खोल्ने ? के– के गर्ने भन्ने विषयमा स्रोत केन्द्रका उपमहानिर्देशक अनप्रसाद न्यौपानेको कार्यदलले प्रतिवेदन पनि बनाएको छ । कार्यदलले प्रतिवेदन सरकारलाई बुझाइ सकेको छ । 

प्रतिवेदनमा देशैभर एकै पटक विद्यालय खोल्न सकिने अवस्था नरहेको उल्लेख छ । संक्रमणको जोखिम कम भएको ठाउँमा सावधानी अपनाएर विद्यालय खोल्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।  

‘देशैभर एकैपटक विद्यालय खोल्न सकिदैन,’ महानिर्देशक थपलियाले भने, ‘जोखिमको आधारमा विद्यलाय खोल्ने दिन पनि फरक पर्छ । क्रमश खोल्दै जानुपर्छ । तर कहिले खुल्ने भन्ने मिति तय भएको छैन । तर दशैंसम्म नजाओस् भन्ने छ ।’

केन्द्रले विद्यालय खोल्ने निर्णय नगर्ने भएको छ ।‘संघबाट विद्यालय खोल्ने निर्णय हुँदैन । सुरक्षाको उचित सावधानी अपनाएर स्थानीय तहले निर्णय गर्ने भन्ने हुन सक्छ,’ उनले भने । जिल्ला जिल्लाबाट लकडाउनको असर नपरेको रिपोर्ट आएको उनले बताए ।

‘जिल्ला जिल्लाबाट विद्यालय र सार्वजनिक यातायात मात्र नचेलेको लकडाउनको असर नरहेको रिपोर्टहरु आएका छन्,’ उनले भने, ‘सार्वजनिक यातायात पनि खोल्ने सरकारले निर्णय गरेको छ । विद्यालयको हकमा केन्द्रबाट भन्दा पनि स्थानीय तहबाट निर्णय हुन्छ ।’

कोरोना भाइरसका कारण विद्यलाय बन्द भएपछि १ असारदेखि सरकारले वैकल्पिक शिक्षण सिकाइ सुरु गरेको थियो । तर त्यो प्रभावकारी नभएको रिपोर्टहरु जिल्ला जिल्लाबाट आएका छन् । केही स्थानीय तहमा राम्रो भए पनि अधिकांशमा प्रभावकारी भएको छैन ।
 
‘वैकल्पिक शिक्षण सिकाइको समिक्षा भएको छ,’ महानिर्देशक थपलियाले भने, ‘कतै सफल भएको छ । कतै प्रभावकारी नभएको रिपोर्ट आएको छ । पहाडी जिल्लामा खेतीपातीको समय भएका कारण विद्यार्थी वैकल्पिक शिक्षण सिकाइमा जोडिएका छैनन् ।’-shilapatra.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार