सोलुखुम्बुको माप्यदूधकोशीमा पहिरोले पाँच घर विस्थापित, दुई दर्जन बढी घर जोखिममा

सोलुखुम्बुको माप्यदूधकोशीमा पहिरोले पाँच घर विस्थापित, दुई दर्जन बढी घर जोखिममा सोलुखुम्बु। सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिकामा पहिरोका कारण पाँच घर परिवार विस्थापित भएका छन्।

केही दिन यता परेको अविरल वर्षाका कारण वडा नं २ का आरती राई, सन्तु राईर लब्जी दमाई, वडा नं ३ का पूर्ण बहादुर राई र पूर्ण बहादुर दमाईका परिवार विस्थापित भएको स्थानीय ललित कार्कीले जानकारी दिनुभयो। विस्थापित परिवारलाई अस्थायी टहरामा राखिएको उहाँले बताउनुभयो।

बुधबारको भारी बर्षाका कारण त्यसै क्षेत्रका वडा नं २ का सुब्बा मगर र वडा नं ३ का तिलबहादुर भूजेल, मेरबहादुर कार्की, रविन र नारायण विकको घर उच्च जोखिममा रहेका छन्। त्यहाँ घरको माथिल्लो र तल्लो भागमा पहिरो जान थालेको बताइएको छ।

त्यस्तै, बासाको खालिङ राई सांस्कृतिक संग्रहालयको भवन पनि पहिरोको जोखिममा परेको छ। वडा नं ४ कांकुका २५ घर परिवार पनि पहिरोको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

स्थानीय रामबहादुर राई, हस्त बहादुर राई, विष्णु बहादुर राई, प्रदिप राई, रामबहादुर राई, लाल बहादुर राई, महलमाया राई, निरबहादुर राई, बाघवीर राई, हर्क जीत राई, पूर्णजित राई, मनोज राई, विना राई, ज्ञानबहादुर राई, भक्तबहादुर राई, केलबहादुर राई, सन्तराज राई, राजमाया राई, जोरवीर राई र कृष्ण तामाङको घर जोखिममा परेको प्रहरीले जनाएको छ।

घरको वरिपरिबाट पहिरो खस्न थालेपछि बासाको प्रहरी चौकी पनि जोखिममा परेको छ भने हिमालय माविको भवन पनि जोखिममा परेपछि सामान सार्न थालिएको बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार