पार्टी विवादमा अल्झने होइन, जनताको जीवन रक्षामा जुटौंः प्रधानमन्त्री ओली(भिडियो सन्देस)

प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र देखिएको विवाद आन्तरिक विषय भएकाले यसलाई समाधान गर्ने जिम्मेवारी पनि नेताहरुको भएको भन्दै जनताको जीवन रक्षामा जुट्न अपील गर्नुभएको छ ।

देशवासीलाई टेलिभिजन सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाढी–पहिरोका कारण ३१ जनाको मृत्यु भएको र ३४ जना हराइरहेको जानकारी दिनुभयो ।

सरकारले बाढी पहिरोमा परेकाको उद्धार र राहतमा कुनै कसर बाँकी नराख्ने भन्दै उहाँले यस कार्यमा सघाउन सबैलाई अपील गर्नुभयो ।

मुलुक कोरोनाको कष्टकर अतिसाध्य, सलहको संकट र प्राकृतिक विपदसँग जुधिरहेका बेला प्रधानमन्त्री र सत्तारुढ दल नेकपाका नेताहरु सत्ताको लुछाचुँडीमा लागेको भन्दै तीब्र आलोचना भएपछि उहाँले देशवासीलाई सम्बोधन गर्नुभएको हो ।

कोरोना भाइरसको संकट अझै नहटेको भन्दै उहाँले पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना माहामारीको जोखिम बढ्दै गएको औल्याउनुभयो । समुदायमा संक्रमण फैलिएमा अवस्था भयावह हुने भन्दै उहाँले सामाजिक दुरी अपनाउन, मास्क र स्यानिटाइजर प्रयोग गर्न सल्लाह दिनुभयो ।

आफ्नै पार्टीका नेताहरुले आफूलाई पदबाट हटाउन खोजेकातर्फ संकेत गर्दै उहाँले महामारी र प्राकृतिक विपत्तिको समयमा राजनीतिक किचलो किन भन्ने प्रश्न उठ्नु स्वभाविक भएको उल्लेख गर्नुभयो ।

यसका लागि धैर्य र संयम आवश्यक पर्ने भन्दै ओलीले भन्नुभयो, ‘पार्टीभित्र हुने यस्ता छलफल, बहस र बिमतीहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन् । यस्ता विषयहरु सम्बन्धित दल र तीनका नेताहरुले आपसी छलफलबाटै सुल्झाउनेछन् ।’

राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीमा किचित असर पर्न नदिने भन्दै उहाँले भन्नुभयो, ‘म आश्वस्त पार्न चाहन्छु, आम नेपालीहरुप्रति आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्टिय स्वाभिमानमाथि उठाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्ष्युण राख्न मेरो तर्फबाट दृढ अडान र हैदसम्मको प्रयास जारी रहनेछ ।’

जनताको जीवन रक्षाको दायित्वबाट विमुख भएर आन्तरिक विमती वा समस्यामा अल्झिन नसकिने भन्दै उहाँले सरकारको ध्यान र प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित रहेको दाबी गर्नपनि छुटाउनु भएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार