हिमालयन ट्रष्टलाई नजिकबाट नियाल्दा

भानुभक्त उपाध्याय
यूवा व्यवसायी

वि.सं. २०५७ सालदेखि सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सम्पर्क बढ्दै गयो । २०५६/५७ सालको एसएलसीमा साइनोले दाई पर्ने मेरै कक्षाको साथी जिल्ला प्रथम भयो । जिल्ला प्रथम भएपछि जिल्लामा लामो समयदेखि शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको संस्था हिमालयन ट्रष्टले दस हजार रुपियाँ नगद तथा मेडल पुरस्कार रुवरुप प्रदान गर्यो । त्यस बेला मलाई थाहा भयो हिमालयन ट्रष्ट सोलुखुम्बुको शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा दुर्गमका पिछडिएका जनतालाई सहयोग गर्दै जनताको जीवनस्तर उकास्न प्रथम सगरमाथा आरोही सर एडमण्ड हिलारीद्वारा स्थापित नाफरहित संस्था रहेछ भनेर । जसको अध्यक्ष आङरिता शेर्पा हुनुहुँदो रहेछ ।

मेरो आमा बिरामी भएर उपचारका लागि २०५४ सालतिर फाप्लु अस्पताल आउँदा हिलारीलाई भेटेको सुनाउनुहुन्थ्यो । पछि वि.सं. २०६०/६१ सालतिर क्याम्पस पढ्दै गर्दा फाप्लु अस्पतालमा जागिर खाने अवसर मिल्यो । त्यसपछि हिमालयन ट्रष्टसँग झनै नजिक भएर काम गर्न थालियो किनकी फाप्लु अस्पताल प्रथम सगरमाथा आरोही सर एडमण्ड हिलारीको पहलमा स्थापना भई पछि तत्कालीन नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । फाप्लु अस्पताल सहित जिल्लाको शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील र महत्वपूर्ण क्षेत्रमा हिमालयन ट्रष्टले पुलको काम गरेको रहेछ । त्यसैले जिल्ला अस्पताल फाप्लुमा कर्मचारी व्यवस्थापन, औषधी व्यवस्थापन तथा अन्य आवश्यकीय सामानहरु उपलब्ध गराइरहेको रहेछ । त्यसका लागि तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट, जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख तथा हाल सेवा निवृत्त डि.जी. डाक्टर मिङमारग्याल्जेन शेर्पाले सहजीकरण गर्नु हुँदोरहेछ ।

विस्तारै समय बित्दै गयो, हिमालयन ट्रष्टले सोलुखुम्बुमा पुर्याउँदै आएको योगदानको बारेमा अझ नजिकबाट थाहा हुँदै गयो । सोलुखुम्बुको खुन्देमा एउटा अस्पताल स्थापना तथा सञ्चालन र खुम्बु तथा सदरमुकाम सल्लेरी भन्दा माथिका क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयहरुमा शिक्षक तालिम, शैक्षिक सामग्री वितरण तथा भौतिक निर्माणका क्षेत्रमा धेरै सहयोग गरिरहेको रहेछ । साथै सरकारले शिक्षक उपलब्ध गराउन नसकेका तथा दरबन्दी कम भएका विद्यालयहरुमा पनि नीजि शिक्षक नियुक्त गरी पठनपाठनलाई सहज बनाइरहेको रहेछ । सोलुखुम्बुको व्यस्त लुक्ला विमानस्थल पनि एडमण्ड हिलारीकै सहयोग तथा पहलमा निर्माण भएको रहेछ, जसले खुम्बुको पर्यटनमा ठूलो योगदान गरिरहेको छ । सोलुखुम्बु मात्र नभएर अन्य जिल्लामा पनि सहयोग गरिरहेको पाइयो । त्यस्ताका हिमालयन ट्रष्टको बोर्डमा को को हुुनुहुन्थ्यो भन्ने खासै जानकारी नभए पनि यसले गरेका शैक्षिक तथा अन्य सुधारका कामहरु निकै सह्रानीय थिए । जसमा त्यसबेला सोलुखुम्बुका माथिल्लो क्षेत्रका विद्यालयका शिक्षकहरुलाई तीन हप्ताको शिक्षण सिकाई सीपको तालिम प्रदान गर्ने र त्यो तालिममा सिकेका सीपलाई विद्यालयमा गएर शैक्षिक सामग्री तयार गरी प्रभावकारी शिक्षणका लागि सामग्री तथा विद्यार्थीका लागि कापी, पेन्सिललगायतका सामग्रीहरु उपलब्ध गराउँदै आएको थियो । सामग्री अहिले पनि उपलब्ध गराइरहेको छ । हिमालयन ट्रष्टले एसइईमा उत्कृट अङ्क ल्याउने सदरमुकाम भन्दा माथिका माध्यामिक विद्यालयहरुमा प्रत्येक विद्यालयबाट तीन जनालाई उच्च शिक्षाका लागि दुई वर्षसम्म माषिक छात्रावृत्ति प्रदान गर्ने गरेको छ भने विभिन्न सङ्कायमा पढ्न इच्छुक विद्यार्थीलाई उच्च शिक्षाका लागि वार्षिक रुपमा छात्रावृत्ति समेत प्रदान गर्दछ । यसमा मैले चिनेजानेका लगायत सयौँ विद्यार्थीहरुले यो सुविधा लिइरहेका छन् । हिमालयन ट्रष्टमा काम गर्ने प्रशिक्षकहरुले यस्तै काम गर्ने अर्को संस्था रीड नेपाल पनि सञ्चालनमा ल्याएका छन् । जसले जिल्लाको तल्लो क्षेत्रमा पनि शिक्षमा लगानी गरिरहेको छ । सोलुखुम्बुको पहिलो क्याम्पस सोलुखुम्बु बहुमुखी क्याम्पस पनि हिलारीकै ठूलो लगानीमा सञ्चालनमा आएको हो ।

हिलारी रहेसम्म उहाँकै रेखदेखमा सोलुखुम्बुमा धेरै काम हुने गरेको थियो भने उहाँको देहान्तपछि पनि हिमालयन ट्रष्टले उस्तै राम्रो काम गरिरहेको छ । जसमा २०७२ सालमा गएको महाभूकम्पपछि पनि हिमालयन ट्रष्टले प्रभावकारी काम गरेको छ । जब भूकम्प गयो, हिमालयन ट्रष्टले दुर्गम जिल्ला सोलुखुम्बुमा औषधी लगायत अन्य शैक्षिक, आर्थिक लगायत विविध क्षेत्रमा सहयोग गरेको छ । अस्पताल तथा विद्यालयहरु ध्वस्त भएकोले त्यस बेला अस्तव्यस्तता छाएको थियो । त्यसबेला हिमालयन ट्रष्ट नेपाल सरकारसँग सहकार्य गरेर अस्थायी विद्यालय भवन बनाउने तथा औषधोपचार गर्ने, अस्पतालमा अस्थायी उपचार केन्द्र बनाउने, भूकम्प पीडित सर्वसाधारणलाई अस्थायी बसोबासका लागि विभिन्न सामग्री उपलब्ध गराउने महत्वपूर्ण काम गरेको छ । भूकम्पले क्षतविक्षत भएको विद्यालयहरुलाई ठड्याउने काममा हिमालयन ट्रष्टले अग्रसरता लिएकै बेला भारतले अघोषित नाकाबन्दी गर्दा समेत विद्यालय पुर्ननिर्माणका लागि स्रोत जुटाएर करोडौँको लगानीमा नेपाल सरकारको मापदण्डअनुसार विद्यालय भवन निर्माणको कामलाई तिव्रता दियो । यसै समयमा मैले हिमालयन ट्रष्टलाई एकदम नजिकबाट नियाल्ने मौका पाएँ । यस बेलासम्म म हिमालयन ट्रष्टको जागिर छोडिसकेर आफ्नै व्यवसायमा लागीरहेको थिएँ र काम विशेषले काठ्माण्डौमा गएको थिएँ । त्यसबेला एकजना प्राविधिक पढेको साथीले फोन गरेर हिमालयन ट्रष्टमा जागिर खुलेछ के गर्नु भन्नुभयो ? मैले बुझ्नुपर्छ भने र सोधेँ । परीक्षामा सामेल भएर नाम निकाल्नु पर्ने उत्तर पाएँ । तर परीक्षा धेरै कडा हुने र पाँच÷छ तह पार गर्नुपर्ने रहेछ, त्यो पनि कन्सल्टेन्सी मार्फत । त्यसमा साथी सफल हुनुभएन ।

त्यसको केही दिनपछि अर्को खबर आयो ट्रष्टमा ठेक्का खुलेको छ नगर्ने? म भोलिपल्ट बिहानै खाना खाएर ट्रष्टको कार्यालय गएँ । प्रमुख कार्यकारी अधिकृत (सिइओ) पासाङ सर कार्यालयमानै हुनुहुँदो रहेछ । भेट भयो, चिया खाँदै कुरा गरियो, काम गरौँ गरौँ लाग्यो, काम गर्ने आँट गरेर फर्म लिएर कोठा आएँ । विवरण बुझाएर भोलिपल्ट फर्किएँ । एकसातापछि होला बविन सर वा सत्यमान सरको फोन आयो । कार्यालय बोलाउनुभयो । कार्यालयमा निकैबेर सिइओ लगायत बोर्डका सदस्य तथा इनिजनियरले काम गर्ने बारेमा सोध्नुभयो । सबै कुरा भएपछि बैंक ग्यारेन्टी लिएर आउनुस् तपाई छनोट हुनुभयो भन्ने कुरा भयो । वर्षा अघि काम सक्नुपर्छ भन्ने कुरा भयो । म हवस भनेर तयारीमा लागे तर बैंक ग्यारेन्टी ढिलो हुने भएपछि नगदै जम्मा गरेर सम्झौता गरेर तत्काल सामानका लागि विरगञ्ज गएँ । सामान लिएर फर्किंए । चुनौती धेरै थियो । फागुनको अन्तिम भइसकेको थियो । लेकमा एकदेखि डेढ महिनापछि पानी पर्ने, विद्यालयहरु धेरै ठाउँमा छरिएका र एक विद्यालय एक प्राविधिक कोअर्डिनेटरसँग समन्वय गर्नुपर्ने थियो । प्रथम पटकको सामान पुर्याउन नपाई जुनवेसीतिर पानी परेर बाटोमा सामान ढुवानीमा धेरै समस्या भयो । तर पनि विविध कठिनाईका बावजुद मङ्सिरमा काम सम्पन्न भयो । दोस्रो वर्ष झन जटिल क्षेत्रमा काम भएकाले मैले आँट गर्न सकिँन । यहाँ मैले माथि उल्लेखित विषय किन व्याख्या गरे भन्दा सोलुखुम्बु जस्तो अति दुर्गम जिल्ला त्यसमा पनि दुर्गम बस्तीका करिब ४० भन्दा बढी विद्यालय भवन निर्माण भए । ती भवन निर्माण सम्पन्न गर्दा विना स्वार्थ ठूलो लगानी भयो, एक रुपियाँ पनि भ्रष्टचार भएन, न त प्रचार प्रसार नै भयो । स्थानीयले करोडौँको रोजगारी पाए, आफ्नो विद्यालय निर्माण भए । बालबालिका सुरक्षित भवनमा पढ्न पाए । गुणस्तरमा पनि कुनै कमजोरी गरिएन । पछि यसै संस्था अन्तरगत रीड नेपान मार्फत पनि त्यतिनै विद्यालय निर्माण हुँदै थिए, त्यो पनि धेरैजसो काम मैले नै गर्ने गरी छनोटमा परेको थिए तर एकजनाले कमिशन मागे झैँ गरे, मैले हुन्न भनेँ, पोल लगाएछन र पछि सामानको गुणस्तरको प्रमाण पत्र पेश गर्नु परेको थियो । पछि सबै विषय ठिक भयो । उनले पनि अर्कै कार्यालयमा जागिर खाए । काम सकियो, केही पैसा बच्यो, त्यो पैसा हिमालयन ट्रष्टले त्यसै स्थानमा खानेपानी, शौचालय बनाइ दियो । पैसा फिर्ता लगेन । विना भ्रष्टचार पारदर्शी रुपमा काम सम्पन्न गरेर नेपाल सरकारलाई भवन हस्तान्तरण भयो । त्यसपछि पनि ट्रष्टले आफ्ना पुराना कार्यक्रम निरन्तर सञ्चालन गरिरहेको छ ।

अहिले कोभिड १९ ले विश्वलाई सिथिल बनाएको छ । हिमालयन ट्रष्टमा डोनेशन गर्ने दातृ राष्ट्रहरु झनै शिथिल छन् । तर त्यस्तो भयावह अवस्थामा पनि दुर्गम सोलुबासीका लागि मसिहा बनेको छ । लकडाउन र सुरक्षित रहने परिस्थीतिले हिँडडुल गर्न गाह्रो छ । लकडाउन शुरु भएपछि एक दिन नव भुजेल सरसँग फोनमा कुरा भयो, यसपाली कार्यक्रम के छ ? उहाँले भन्नुभयो, हेड अफिसबाट पहल भइरहेको छ । फोनमै सोलुबासीकोतर्फबाट धन्याबाद भने मैँले । त्यसको केहीदिनपछि जिल्लाका अस्पताल, नगरपालिका र गाउँपालिकामा अत्यावश्यक स्वास्थ्य सामग्री तथा औषधी हस्तान्तरण गरेको खबर सामाजिक सञ्जाल फेसबुकमा पढेँ, धेरै खुशी हुँदै ट्रष्टलाई मनमनै धन्यवाद दिएँ । फेरी जिल्ला अस्पताल फाप्लुलाई औैषधी हस्तान्तरण गरेको देखेँ अनि सम्झेँ हिमालयन ट्रष्टको गुण सोलुवासीले कहिले फिर्ता गर्ने होला । एक पटक औषधी ल्याउँदा ३०/४० लाख भन्दा बढी पर्यो, अहिलेको यस्तो विषम परिस्थीतिमा यति धेरै स्रोत जुटाएर सोलुखुम्बुका तमाम गरिब जनतालाई सहयोग गरेकोमा हिमालयन ट्रष्ट नेपालका विदेसका सबै कार्यालयमा आवद्ध महानुभावहरु, हिमालयन ट्रष्टका अध्यक्ष तथा पदाधिकारी र सिइओ, लेखापाल लगायत अन्य कर्मचारी सरहरु र जिल्लामा खटिनुभएका नवबहादुर भूजेल सर लगायत सम्पूर्ण सहयोगी टिमलाई सोलुवासी र मेरो व्यक्तिगततर्फबाट धेरै धन्यवाद दिन चाहान्छु ।
धन्यवाद ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार