साकार भयो नेचाबासीको सिधा मोटर चढ्ने सपना

सन्तोष राउत/ सोलुखुम्बु। वर्षौदेखिको बाह्रै महिना सिधा मोटर चढेर गन्तव्यमा जाने नेचाबासीको सपना पूरा भएको छ । केही वर्ष अघि ट्रयाक खोलिएको तिङ्लाको रमितेदेखि सल्यान हुदैँ नेचासम्म जाने कच्ची सडक खण्डमा पर्ने सल्यान र नेचाको बिचको खहरे खोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएपछि त्यो सपना सकार भएको हो ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको करिब चार करोड २३ लाख ९० हजार रुपियाँको लागतमा एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी ए.डी. विल्डर्स काठ्माण्डौँले काम थाले पनि विभिन्न समस्याका कारण निर्धारित समय भन्दा केही ढिला पुल तयार भएकोे हो ।

४१.५५ मिटर लम्बाई रहेको पुल स्टिल प्लेट गर्डर प्रविधिबाट निर्माण भएको स्थानीय सडक पुल कार्यक्रमका टेक्निकल अफिसर मनोजकुमार माझीले जानकारी दिनुभयो । एक वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भएपनि सरकारकै तर्फबाट विभिन्न कारणले समयमा अनुमति दिन नसक्दा, तथा नाकाबन्दी लगायत विविध कारणले पुल निर्माणमा ढिला भएको निर्माण कम्पनीका साइड इन्चार्ज रिन्जी शेर्पाले बताउनुभयो ।

सम्झौता गरेपछि लगातारको निर्वाचनका कारण पुसमा मात्र काम थाल्ने अनुमति प्राप्त भएकाले समयमा सुरु गर्न नसकेको र एकापट्टिको जग निर्माणका लागि जमिनको कमसल आधार भएकाले पुनः डिजाइन परिवर्तन गर्दा फागुनमा मात्र अनुमति पाउँदा निर्माण ढिला भएको इन्चार्ज रिन्जी शेर्पाको भनाइ छ । निर्धारित समयमा सक्ने योजना लिएको भएपनि समयमा कामको अनुमति नपाउँदा र वर्षायाममा काम गर्न नमिल्ने भएकाले समस्या भएको उहाँले बताउनुभयोे ।

तिङ्ला रमिते–सल्यान–केराबारी–नेचा बिहीबारे नाम दिइएको उक्त कृषि सडकमा पर्ने उक्त पुल बनेपछि अब हिउँद वर्षानै यातायात चल्ने स्थानीयको भनाइ छ । पुल बनेपछि सबै सिजनमा यातायात सञ्चालन हुने नेचाका स्थानीय बताउछन् । पहिला वर्षायाममा करिब तीन चार महिनासम्म यातायात नचलेको अनुभव सुनाउँदै अहिले सडक स्तरोन्नती र पक्की पुल बन्ने भएपछि सजिलो हुने नेचाका छविलाल बास्तोलाले बताउनुभयो ।

अहिले त्यस बाटोमा दैनिक दर्जनौँको हाराहारीमा नीजि तथा भाडाका सार्वजनिक सवारी जीप तथा अन्य साधन चलने गरेका छन् । पुलको अभावमा वर्षायाममा सामान ढुवानीमा समस्या भएको र अब पुल बनेपछि ढुवानी सहज हुने स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार