प्रधानमन्त्री ओलीको अयोध्याकाण्डले भारतमा बस्ने नेपालीमाथि शुरुभो ज्यादती, जबर्जस्ती मुण्डन गराई टाउकोमा लेखियो श्रीराम !

प्रधानमन्त्री केपी ओलीले राम जन्मभूमि नेपालमा रहेको र भारतले नक्कली अयोध्या बनाई सांस्कृतिक हस्तक्षेप गरेको अभिव्यक्ति दिएकामा त्यसको मार भने भारतमा रहेका नेपालीले खेप्न बाध्य भएका छन् ।

ओलीको अभिव्यक्तिपछि भारतमा रहेका नेपालीमाथि भारतीय हिन्दूवादीहरुले अनेकन ज्यादती दिन थालेका हुन् ।

आफूलाई हिन्दू बताउने अतिवादी भारतीयहरुले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको विरोध भन्दै त्यहाँ रहेका नेपालीमाथि गरेका ज्यादतीका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

जसमा हालै एक नेपालीलाई हिन्दूवादी संगठन विश्व हिन्दू सेनाले जबरजस्ती मुण्डन गराएर राम भारतमा जन्मेको भन्दै प्रधानमन्त्री ओलीको विरोधमा नाराबाजी गर्न लगाइएको भिडियो सार्वजनिक भएको हो ।

अतिवादी हिन्दूहरुले ती नेपाली युवाको जबरजस्ती कपाल खौरेर तालुमा जय श्रीराम लेखेको भिडियोमा देखिन्छ ।

उदण्ड हिन्दूवादीहरुले नेपाल र प्रधानमन्त्री ओलीविरुद्ध पनि नाराबाजी गरेका छन् । भारत र श्रीरामको जयगान गरेका छन् ।

सामाजिक सञ्जालमा यस्तो भिडियो भाइरल भएपछि घटनाबारे चासो देखाउँदै भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले उक्त घटनाबारे उत्तर प्रदेशको मुख्यमन्त्री कार्यालयसँग कुरा गरिएको जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले असार २९ गते आदिकवि भानुभक्त जयन्तीका दिन हिन्दूहरुका भागवान राम नेपालमा जन्मिएको र अयोध्या पनि नेपालको वीरगञ्जनजिक ठोरीमा रहेको दाबी गर्दै अभिव्यक्ति दिनुभएको थियो ।

प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिएपछि त्यसको नेपालभित्रै र भारतमा पनि आलोचना भएको छ । स्वयं सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयमा बचाउमा प्रष्टीकरण वक्तव्य निकाल्नु परेको थियो ।

अब यसको जनस्तरसम्ममा पनि असर देखिन थालेको छ । सरकार र सत्ता तहमा सीमित भइरहेका असन्तोष र विवाद जनस्तरमै पुग्दा त्यसले दुई देशका जनताबीचको सम्बन्धमा गम्भीर असर पर्नेमा जानकारहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।इमेजखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार