सन्तोष राउत/सोलुखुम्बु। नेपाली कांग्रेस सोलुखुम्बुको प्रदेशसभा ‘ख’ का सभापति कर्मा शेर्पा सम्मानित हुनुभएको छ। सोलुदूधकुण्ड नगरपालिका ११ तिङलामा रहेको सिंहकाली महिला कृषि समूहद्वारा शेर्पाले तिङ्गलामा गरेको सामाजिक योगदानको कदर गर्दै एक कार्यक्रमकाे आयोजना गरी सम्मान गरेको हो।
सम्मान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाली कांग्रेस सोलुखुम्बुका पूर्व सभापति आङगेलु शेर्पाले कोरोना स्थायी समस्या नभएको भन्दै हरेक संकटमा कांग्रेस जनताको साथमा रहने बताउनुभयो। तिङ्गलामा स्थानीय निर्वाचन नभए पनि तिङलाबासीलाई जनप्रतिनिधि नभएको महशुस हुन नदिने शेर्पाको भनाइ छ।

सोही अवसरमा सोलुदूधकुण्ड नगरपालिकाका नगर प्रमुख नाम्गेलजाङबु शेर्पाले तिङ्गलाको विकासमा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै तिङ्गलामा घर घरमा विजुली बाल्ने काम अघि बढिरहेको बताउनुभयो।
सम्मानित भएपछि सभापति कर्मा शेर्पाले कोरोना कहरमा नगरबासीलाई सहयोग गर्न पाउँदा खुसी लागेको भन्दै तिङ्गलाबासी र महिला उत्थानमा सधैँ सहयोग गर्ने बताउनुभयो। द स्मल वर्ल्डका अध्यक्ष समेत रहनुभएका शेर्पाले सिंहकाली महिला कृषि सहकारी संस्था मार्फत कोरोना अर्थात् कोभिड १९ को रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण जनतालाई दैनिक उपभोग्य सामानको अभाव कम गर्न १५० घरधुरीलाई प्रति घर एक बोरा चामल सहित राहत वितरण गर्नुभएको थियो। विगत लामो समयदेखि सोलुखुम्बुको शिक्षा र स्वास्थ्यमा सहयोग गर्दै आउनुभएका शेर्पाले नगरपालिकाभित्र आशाको विऊ कार्यक्रम मार्फत टोल टोलमा तरकारीको तरकारीको विऊ वितरण गर्नु भएको छ।
नेता शेर्पाले आफ्नो सानो सहयोगको मूल्याङ्कन गरी सम्मान गरेकोमा महिला समूहका अध्यक्ष प्रमिला कार्की , सचिब सरस्वती कार्की महिला सामाजिक परिचालक मैना बस्नेत लगायत सबैलाई धन्यबाद व्यक्त गर्नुभयो।
