बीपी स्मृति दिवसमा तरुण दलद्वारा फलफूल वितरण

सोलुखुम्बु । नेपाली काङ्ग्रेसका संस्थापक एवम् नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को ३८ औँ स्मृति दिवसका अवसरमा नेपाल तरुण दल सोलुखुम्बुले फाप्लु अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।

देशभर विभिन्न कार्यक्रमका साथ स्मृति दिवस मनाईएसँगै नेपाल तरुण दल केन्द्रिय समितिको निर्देशानुसार सोलुखुम्बुमा पनि अस्पतालमा उपचारार्थ बिरामीलाई फलफूल वितरण गरिएको नेपाल तरुण दल सोलुखुम्बुका विनोद कालिकोटेले जानकारी दिनुभयो ।

वि.सं. १९७१ भदौ २४ गते जन्मनुभएका कोइरालाको २०३९ साउन ६ गते क्यान्सर रोगसँग लड्दा लड्दै निधन भएको थियो । राजनीतिमा ‘बीपी’ र नेपाली साहित्यमा ‘विश्वेश्वर’को नामबाट परिचित कोइराला जहानियाँ राणा शासन विरुद्धको क्रान्तिका एक नायक हुनुहुन्थ्यो ।

उहाँले राजनीतिलाई मूल्य र आदर्शको परिधिमा राख्नुुभयो । राणा शासनको अन्त्यसँगै ३६ वर्षको उमेरमा गृहमन्त्री बन्नुभएका कोइराला २०१५ सालको आम निर्वाचनमा नेपाली कांँग्रेसले दुई तिहाइ स्थान प्राप्त गरेपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनुभयो ।

उहाँले जनतालाई सर्वोपरि राखेर गरेको राजनीतिबाट तत्कालीन राजा महेन्द्रलाई सह्य नभएपछि निर्वाचित सरकारलाई अपदस्थ गरी प्रधानमन्त्री बीपी लगायतका नेतालाई सेनाको बलमा आठ वर्ष बन्दी बनाइयो । त्यसपछि आठ वर्ष प्रवास र पुनः स्वदेश फर्केर पञ्चायतविरुद्ध लड्दा कठोर कारावास र सङ्घर्षमै उहाँको जीवन बित्यो ।

जीवनको उत्तराद्र्धमा आएर बीपीले राष्ट्रियता र मेलमिलापलाई बढी जोड दिएको पाइन्छ । उहाँले कारागारमा बन्दी जीवन बिताउँदा होस् वा बाहिर रहेर बीपीले साहित्यको माध्यमबाट समाजलाई चेतनशील बनाउन योगदान दिनुभएको थियो ।

फलफूल वितरणमा नेपाली काँग्रेस सोलुखुम्बुका नेता तथा तरुण दल सोलुखुम्बुका जिल्लास्तरका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार