प्राकृतिक विपद्हरू कसरी, कहिले आउँछन् भनेर ठ्याक्कै भन्न त सकिँदैन तर यस्ता प्रकोपपूर्व केही सङ्केतहरू भने आउँछन्, त्यसका लागि हामी चनाखो रहनुपर्छ’ वरिष्ठ भूगर्भविद् शिव बाँस्कोटा भन्नुहुन्छ । ‘सिन्धुपाल्चोकको जुरेमा समेत केही महिनाअघि अनौठो कटकट आवाज जमिनबाट आइरहे पनि स्थानीयले त्यसको बेवास्ता गरे र त्यत्रो क्षति व्यहोर्नुपर्याे’ बाँस्कोटाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
मौसम, वर्षा र बाढीजस्ता पहिरोको पूर्वानुमान गर्न सकिँदैन, यसैले स्पष्ट रूपमा पूर्वसङ्केत पाउन सकिँदैन। तर, पहिरो जानेवाला छ भनेर केही न केही कुरा थाहा हुन सक्छ । त्यस्ता केही पूर्वसङ्केतहरूबारे हामीले समयमै जानकारी पाएमा ठूलो जनधनको क्षति कम गर्न सकिने बाँस्कोटाको अनुभव छ ।
उहाँ भन्नुहुन्छ, ‘जमिनमुनिबाट कट्कट् गरेर अस्वाभाविक आवाज आउनु, घरका झ्याल–ढोका लगाउन अप्ठ्यारो हुनु, बेलुका सजिलै गरी लगाएको चुकुल बिहान खोल्न गाह्रो हुनु, बिजुलीको पोल ढल्किने वा बाङ्गो हुनु, पहिरो जान सक्ने सुरुवाती सङ्केत हुन् ।’
वरिष्ठ भू–गर्भविद् बाँस्कोटाको अनुभवमा पानीका मूलहरू आकस्मिक रुपमा बढ्ने, सुक्ने वा धमिलो आउनु, साना खोल्सा, ठूला खोला एक्कासि सुक्नु वा बढ्नु पहिरो जानुभन्दा पहिले धेरै पूर्वसङ्केत आउने भएकाले त्यसको ख्याल राख्न सबैलाई आग्रह गर्नुहुन्छ ।
बस्ती छेउमा एकान्त ठाउँमा ढुङगाले हानेको जस्तो गरेर साना साना ढुङ्गा खस्नु पहिरोको सामान्य लक्षण भएको बाँस्कोटाले बताउनुभयो । पर्वतमा घर नै ढल्कने गरी जमिन सरेका छन् । खेतमा आली नै सर्न थालेका छन्, त्यस्तो भएमा स्थानीय सरकार र प्रहरी प्रशासनले तत्कालै जानकारी गराएर आफू सुरक्षित स्थानमा जानुपर्ने उहाँको सुझाव छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैमा सतर्क रहन अनुरोध गरेको छ । केही दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले पहिरो आउनसक्ने पूर्वसूचनालाई ख्याल गरेमा मानवीय क्षति कम हुने प्राधिकरणले जनाएको छ ।
त्यस्तै, नदीको कटानको कारणले बस्तीहरू सीधै नदीमा आउनसक्ने सम्भावना रहेकाले त्यसबाट जोगिन आवश्यक रहेको बाँस्कोटा बताउनुहुन्छ । नुवाकोटको बट्टार, रुकुमको चौरझारी, सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्र नदीको माथिल्लो भागमा बसेकाले कटान हुन थालेपछि सुरक्षित स्थानमा जानुपर्ने बाँस्कोटा बताउनुहुन्छ ।
देशका अधिकांश भागहरूमा भारी वर्षा भइरहेको छ । अत्यधिक वर्षाको कारण हाम्रा जमिनहरू भित्रभित्रै गलिरहेका छन् । यो समयमा पहिरोको उच्च जोखिम भएकाले पहिरोका पूर्वसङ्केतहरूका बारेमा जानकारी हुन आवश्यक रहेको बाँस्कोटा बताउनुुहुुन्छ ।
जमिनमुनिबाट चट्टान फुटेको जस्तो कट्कट् आवाज आउनु, रुख ढल्दै ढुङ्गा माटो सोहोर्दै अङ्जङ्गको आवाज आउनु, रुख बिजुलीका पोल र घरका खाँवाहरू ढल्कनु, घरका भित्ता वा पर्खालहरू चिरा पर्नु, जरुवा पानीको मूल सुक्नु र धमिलो आउनु पहिरोका पूर्वसङ्केतहरू रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
पहिरो आउने पूर्वसङ्केत पाएपछि के गर्ने त ? वरिष्ठ भू–गर्भविद् बाँस्कोटा भन्नुहुन्छ, ‘नआत्तिने । सकेसम्म छिटो सुरक्षित स्थानमा जाने, सामान जोगाउनभन्दा आफ्नो र परिवारको ज्यान जोगाउन थाल्ने, खोल्सी बग्ने दिशातर्फ नभाग्ने बरु दायाँबायाँ गरेर डाँडातिर लाग्ने, आफ्नो क्षेत्र वा सो क्षेत्रभन्दा माथि पानी परेको छ भने घरको कम्तीमा एक जना जागा बस्ने, पहिरो गएमा छिमेकी र प्रहरीलाई खबर गर्ने र मद्दत माग्ने, पहिरो आइसकेको ठाउँको मुन्तिर नबस्ने । त्यहाँ फेरि अर्काे पहिरो आउन सक्ने भएकाले सुरक्षित रहनुपर्छ ।’
भेल पहिरोको अत्यधिक खतरा
पहाडी क्षेत्रमा पहिराको उच्च जोखिम हुन्छ । केही वर्षदेखि पहाडमा भेल पहिरोको कारणले धेरैको ज्यान गएको र बस्ती नै सखाप हुने अवस्था सृजना भएको छ ।
वर्षामा सग्लो पानीमा भन्दा धमिलो र लेदो पानीमा अत्यधिक शक्ति हुने र त्यसमा रुख बिरुवा बगाएर ल्याउने भएकाले त्यसले पछिल्लो समय निकै क्षति पारेको बाँस्कोटाले बताउनुभयो । माथिबाट सानो पहिरो आउने र खोल्सा थुनिने र त्यसमा लेदोसमेत बगेर घर पुरिने घटनाहरू बढेको बाँस्कोटाले बताउनुुभयो ।
सिन्धुुपाल्चोकमा केही साताअघि आएको बाढीमा समेत लेदोले छोपेको इलाका प्रहरी कार्यालय बाह्रबिसे सिन्धुपाल्चोकका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताउनुुभयो ।
अहिले भएका धेरै क्षतिहरू भेलमा आएको पहिरोको कारणले देखिएको छ । सबै ठाउँहरूमा ग्रामीण सडकहरू खोलिने क्रम बढेसँगै भेल बाढीको त्रास बढेको न्यौपानेले बताउनुभयो । केशवराज पौडेल/गोरखापत्र अनलाइन