कांग्रेसको १४औँ महाधिवेशन सार्ने तयारी, देउवा र पौडेल समूहबीच घम्साघम्सी

काठमाडौँ – आसन्न महाधिवेशनलाई लिएर प्रमुख विपक्षी दल नेपाली कांग्रेसमा चुनावी सरगर्मी बढ्दो छ । आगामी फागुन सात गतेदेखि सुरु हुने भनिएको पार्टीको केन्द्रीय महाधिवेशनका लागि नेताहरुले आन्तरिक तयारी तीव्र पारेका छन् । संस्थापन र संस्थापन इतर समूहले एक अर्कामा हिलो छ्यापेर अघि बढ्ने रणनीति अख्तियार गरेको पनि पाइएको छ ।

संस्थापन समूहले फेरि पनि पार्टी नेतृत्वमा कब्जा जमाउने रणनीति स्वरुप विभागहरुमा आफू निकट व्यक्तिहरुलाई मनोनित गर्ने गरी पार्टीका क्रियाकलापहरु अगाडि बढाएको छ भने संस्थापन इतर समूहले सभापति देउवाले पार्टीको विधानको धज्जी उडाएको आरोप लगाउन थालको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता रहेको टिप्पणी गर्नुभएको छ । देउवाले विधान मिचेर पटकपटक विभागहरु गठन गरेको सम्बन्धमा ध्यानाकर्षण गराइएको तर उहाँमा विधान जति मिच्न सक्यो त्यति बहादुर र बलवान ठहर्छु भन्ने मानसिकता हाबी रहेको पाइएको पौडेलले बताउनुभयो । देउवाको विधान मिचेर बहादुर देखाउन खोज्ने प्रवृत्तिका कारण पार्टी प्रजातान्त्रिक हो कि होइन भन्ने खतरा बढेको कठोर टिप्पणी पनि पौडेलले गर्नुभएको छ ।

तर कांग्रेसको संस्थापन पक्षले भने विधान मिचेको आरोपको खण्डन गरेको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले विधानमा भएको व्यवस्था बमोजिम नै सभापति देउवाले विभागहरुलाई पूर्णता दिएको दाबी गर्नुभयो । उहाँले संस्थापन इतर समूहलाई विभागमा मनोनयनका लागि नेताहरुको नाम दिन पटक–पटक आग्रह गरिएको तर नामै नआएपछि बाध्य भएर सभापतिबाट निर्णय भएको बताउनुभयो । यसमा पटक पटक छलफल भएकोले विधान मिचेर अघि बढेको सवाल नै नउठ्ने महतको दाबी छ ।

तर वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन समयमै गर्न नसके पार्टी संकटमा पर्न सक्छ भन्दै आफूले तीन वर्ष अघि देखि कार्यतालिका बनाएर काम गरौं भन्दा देउवाले नमानेको आरोप लगाउनुभयो । महाधिवेशन गर्ने समयमा असाधारण स्थिति भयो भन्दै पछाडि धकेलेको र अहिलेको असाधारण अवस्थामा गर्न लागिएको महाधिवेशनमा विधान मिच्दै महाधिवेशनलाई प्रभाव पार्न खोजेको उहाँको आरोप छ । चार वर्षमा महाधिवेशन गर्न नसक्ने सभापति अहिले कामचलाउ मात्रै भएकाले कुनैपनि निर्णय एक्लै गर्न नसक्ने पौडेलको जिकिर छ । उहाँले देउवाको तानाशाह प्रवृत्तिको भण्डाफोरको विषयलाई आगामी महाधिवेशनको एजेण्डा बनाउने बताउनुभयो ।

कांग्रेस सहमहामन्त्री महतले पनि पौडेल पक्षबाट भइरहेको अहिलेको विरोधलाई महाधिवेशनको फण्डाकै रुपमा आफूहरुले बुझको टिप्पणी गर्नुभयो । उहाँले महाधिवेशनको मिति तय भइसकेका बेला आचारसंहिता मिच्यो भनेर लगाइएको आरोपको पनि खण्डन गर्नुभयो ।

आगामी फागुन ७ गतेका लागि मिति तोकेर महाधिवेशनको तयारी सुरु भएकोले अहिले देखिनै आचारसंहिता सबैलाई लाग्ने पौडेल पक्षको भनाई छ । तर कांग्रेसको संस्थापन पक्षले भने अहिले तोकिएको महाधिवेशनको मिति सारिने संकेत गरेको छ ।

सहमहामन्त्री महतले अनुशासन कायम गर्नका लागि मात्रै अहिले मिति तोकिएकोले महाधिवेशनको कार्यतालिका फेरबदल हुने संकेत गर्नुभएको छ । कोरोना महामारीका कारण फागुनमा तोकिएको महाधिवेशन सार्ने सहमति पार्टीमा लगभग जुटिसकेको कांग्रेसीहरुबीच चर्चा छ ।-radionrn.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार