तत्काल बिजुली बाल्न र शेयर उपलब्ध गराउन तरुण दल तिङलाको माग

हिमशिखर समाचारदाता/सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ को नेपाल तरुण दल इकाई समिति तिङलाले साबिक तिङ्ला गाविसका सबै घरधुरीमा तत्काल राष्ट्रिय प्रशारण लाइनको ३३ केभीएको बिजुली बाल्न माग गरेको छ ।

समितिको बैठकले वडाभरी नै एकैचोटी विद्युत बाल्ने भनिएतापनि कतिपय टोलमा पोल लगायत आवश्यक सामग्री अपुग भएकाले तत्काल उपलब्ध गराउने र सबै तयारी भएको टोलमा १५ दिनभित्र विद्युत जडान गर्न नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय सोलुखुम्बुसँग माग गरेका छन् ।

सभापति फुर्वा शेर्पाको अध्यक्षतामा बसेको बैठकले निर्माणधीन ८२ मे.वा.को तल्लो सोलु जलविद्युत आयोजनाले निर्माणको काम धेरैजसो सम्पन्न गरेको भएपनि हालसम्म स्थानीयलाई शेयर वितरणको कुनै सुरसार नगरेकाले १५ दिनभित्र प्रतिघर एक हजार कित्ता शेयर वितरण गर्न माग गरेका छन् । मागको वेवास्ता गरे कडा आन्दोलनको चेतावनी तरुण दलले दिएको छ ।

त्यस्तै, बैठकले ग्रामिण विद्युतीकरणको काम ठप्प जस्तै भएकाले आवश्यक सामग्री सहित तत्काल काम थाल्नका लागि विद्युत प्राधिकरण सल्लेरीसँग पहल गरिदिन नगरपालिकालाई अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार