ओली-दाहालसँग देउवाले के भने ?

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् । सोमबार अपरान्ह देउवा प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

कांग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले सभापति देउवाले प्रधानमन्त्री ओलीसँग गरेको भेटबारे निकालेको विज्ञप्तीमा भनिएको छ,’सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री के.पी. शर्मा ओलीको निमन्त्रणामा बालुवाटारमा उहाँसंग भेट गर्नु भएको छ । कतिपय संवैधानिक नियुक्तिहरु बारे प्रधानमन्त्रीले विपक्षी दलको नेताका रूपमा सभापतिसँग परामर्श गर्नु भएको थियो भने सभापति देउवाले भेटघाटको शुरुमै जरुरी महत्वका निम्न ३ बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।’

प्रधानमन्त्री र पार्टी सभापतिको भेटघाट र छलफलबारे

भाद्र १, २०७७

प्रधानमन्त्री र पार्टी सभापतिको भेटघाट र छलफल बारे

सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री के.पी. शर्मा ओलीको निमन्त्रणामा बालुवाटारमा उहाँसंग भेट गर्नु भएको छ । कतिपय संवैधानिक नियुक्तिहरु बारे प्रधानमन्त्रीले विपक्षी दलको नेताका रूपमा सभापतिसँग परामर्श गर्नु भएको थियो भने सभापति देउवाले भेटघाटको शुरुमै जरुरी महत्वका निम्न ३ बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।

१, सिन्धुपाल्चोकको जुगल गापाको लिदिमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको छ र कयौं बेपत्ता छन् । गाउँबासीले दश दिन अघि देखिनै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपु¥याउनु अत्यन्तै दुःखद भएको छ । यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन ?

देशको अन्य विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति गरेको छ । सरकारको भुमिका सन्तोषजनक देखिएन । ब्यवस्थित र प्रभावकारी ढंगले कार्य गर्न आग्रह गर्दछु ।

२, कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको छ, संक्रमण तीब्र गतिमा बिस्तार भएको छ । बढ्दो चुनौती सामना गर्नसक्ने ढंगले कार्य गर्न सरकार समर्थ देखिएन । कमजोरीको समिक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन ? आइसोलेसन र भेन्टिलेटर पर्याप्त ब्यवस्था गर्न किन ढिलाइ ?

३, त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगति उपर कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान पुग्न जरुरी छ । निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमता भन्दा राजनैतिक पुर्वाग्रह बढी देखियो । प्रजातन्त्रवादी प्राध्यापक संघको सभापति लगायतलाई मुद्दा लगाउने, राखिएका जायज मागहरुको सुनुवाइ नगर्ने, किर्तिपुर देखि ठाकुरराम क्याम्पस सम्मका विद्यार्थीलाई थुनामा राख्ने अनि विविध माग राखेर २६ दिन देखि पोखरा विश्वविद्यालयमा अनशनमा बसेका नेविसंघका विद्यार्थीहरुसँग संवाद समेत नगर्ने यस्तो बलमिच्याई प्रवृत्ति प्राज्ञिक थलो सुहाउँदो छैन । अविलम्ब संवादबाट समाधानमा पुग्न ढिलाइ नगर्न म प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउन चाहन्छु ।

सभापति देउवाले यी सबै बिषयलाई गम्भीरतापूर्वक लिएर कार्य गर्न पनि प्रधानमन्त्री समक्ष आग्रह र नेपाली कांग्रेसको तर्फबाट माग गर्नुभएको छ । प्रधानमन्त्रीसँगको भेटमा सभापतिका साथमा केन्द्रीय सदस्य रमेश लेखक सरिक हुनुहुन्थ्यो ।

जय नेपाल !

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार