थुलुङदूधकोशी गाउँपालिकाद्वारा बाढीपहिरो प्रभावितलाई आर्थिक सहयोग

हिमशिखर समाचारदाता
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकाले १२ बाढीपहिरो प्रभावितलाई आर्थिक सहयोग प्रदान गरेको छ । गाउँपालिकाभित्रका पाँच वडाका १२ जना प्रभावित विपन्न परिवारलाई नगद सहयोग प्रदान गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण गएको बाढी पहिरोबाट अति प्रभावित नागरिकहरुलाई उहाँहरुको दुःख बाँड्न आर्थिक सहयोग प्रदान गरिएको अध्यक्ष राईको भनाइ छ ।

बाढी पहिरोबाट अति प्रभावितहरुमध्ये प्राप्त निवेदनहरुबाट प्राविधिकको स्थलगत निरीक्षण प्रतिवदेन, वडा कार्यालयको सिफारिस र प्रहरी मुचुल्का लगायतका आधारमा क्षतिको यकिन गरी अति प्रभावित, मध्यम र सामान्यमा वर्गीकरण गरी क्रमशः २० हजार, १५ हजार र १० हजार उपलब्ध गराउने कार्यपालिकाको निर्णयअनुसार सहयोग हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

जसमा मुक्लीका गणेशबहादुर दमाई, टिकाराम दमाई, कैलाश दमाईलाई १० हजार रुपियाँ प्रदान गरिएको छ भने वडा नं. ४ जुबुका फुरकुमार राई, एकबहादुर राई, रबिन राई, रणधीर राई, सुमन राई लाई नगद १० हजार रुपियाँ र एक थान त्रिपाल उपलब्ध गराएको छ ।

त्यस्तै, वडा नं. ५ जुबुका बहादुर नेपालीलाई १० हजार रुपियाँ, वडा नं. ३ पञ्चनका राकेश राई १५ हजार रुपियाँ, वडा नं. १ नेलेका रणबहादुर कामीलाई १० हजार रुपियाँ, मुक्लीका यमुना काफ्लेलाई १० हजार रुपियाँ प्रदान गरिएको हो ।

सहयोग वितरण गर्दै अध्यक्ष राईले मनसुनको समय अझै बाँकी रहेकाले गाउँपालिकाबासी सबै सचेत र सुरक्षित रहन आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार