कोरोना उपचार विधि : कति सफल प्लाज्मा थेरापी ?

मायो क्लिनिकका अनुसन्धाताले कोरोना (कोभिड–१९)बाट निको भएका व्यक्तिको रक्त प्लाज्मा अरू व्यक्तिलाई निकै फलदायी रहेको जानकारी दिएका छन् तर प्रामाणिक तहमा पुष्टि भइसकेको छैन । प्रभावकारी उपचार पद्धतिको व्यापक खोजी भइरहँदा कतिपय विज्ञले भने प्लाज्मा थेरापीमा रहेका अस्पष्टताप्रति चिन्ता व्यक्त गरेका छन् ।

संयुक्त राज्य अमेरिकामा ६४ हजारभन्दा बढी कोरोना सङ्क्रमितलाई प्लाज्मा थेरापीबाट उपचार गरिएको छ । खोप (भ्याक्सिन) विकास गर्नुअघि सयौँ वर्षदेखि यो विधि विभिन्न ज्वरो (फ्लु) र दादुराका बिरामीको उपचारका लागि प्रयोग हुन्थ्यो ।

नयाँनयाँ रोग निस्कँदा औषधि र खोप दुवै नहुँदा मानिसको जीवन जोखिममा पर्नु स्वाभाविक हो । यस्तो आपत्कालीन स्थितिमा वैज्ञानिकले प्लाज्मा थेरापीलाई तत्कालै उपलब्ध विधिका रूपमा प्रचलनमा ल्याउने गरेका छन् तर यो विधि सबै किसिमका सङ्क्रमणमा सफल भएको छैन । हालसम्म कोरोना भाइरसविरुद्ध लड्न प्लाज्मा थेरापी सक्षम र उपयुक्त नै छ भन्ने ठोस वैज्ञानिक आधार तयार भइसकेको छैन र यस्तो अवस्थामा यसको उपयोग गर्नु कति ठीक होला ? तर प्लाज्मा दिइएका करिब ३५ हजार बिरामीको प्रारम्भिक तथ्याङ्क विश्लेषण गर्दा निकै सकारात्मक प्रभाव देखिएको मायो क्लिनिकका मुख्य अनुसन्धाता डा. माइकल जोयनरले बताउनुभएको छ ।

कोरोना सङ्क्रमण देखिएको तीन दिनभित्र प्लाज्मा दिइएका व्यक्तिको मृत्युदर ज्यादै न्यून रहेको छ । जोयनरका अनुसार शरीरमा भाइरससँग लड्ने क्षमता अत्यन्त कमजोर भएर एन्टिबडीको सख्त जरुरी परेका बिरामीलाई समेत प्लाज्मा थेरापीले धेरै मद्दत गरेको छ ।

समस्या कहाँनेर छ त ? यो औपचारिक अध्ययन भने होइन । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)को निर्देशिका बमोजिम संयुक्त राज्य अमेरिकाका विभिन्न अस्पतालमा बिरामीको भिन्नभिन्न तरिकाबाट उपचार भइरहेको छ ।

अमेरिकामा प्रयोगात्मक उपचार विधिका सम्बन्धमा व्यापक जानकारीमा पहुँच दिइने भनिए पनि प्लाज्मा प्राप्त गर्ने बिरामीका बारेमा प्रस्ट जानकारी छैन । हाल देशभरबाट प्रमाण सङ्कलन गर्ने अभियान सञ्चालनमा छ ।

करिब १०२ वर्षदेखि हामी प्लाज्माले साँच्चै काम गर्दछ वा गर्दैन भनेर हामी बहस गरिरहेका छौँ, न्युयोर्क विश्वविद्यालयकी डा. मिला ओर्टिगोजाले बताउनुभयो । उहाँले सन् १९१८ मा पनि फ्लुको महामारीका दिनमा प्लाज्मा थेरापीको प्रयोग गरिएको थियो । यसपटक हामीलाई विवादरहित ठोस प्रमाणको खाँचो छ, उहाँले भन्नुभयो ।

ओर्टिगोजाले यस्तै एउटा अध्ययनको सहसंयोजकका रूपमा कार्य गरिरहनुभएको छ । यसै साता यो समूहले अरू तीनवटा राज्य– कनेक्टिकट, फ्लोरिडा र टेक्सासमा अध्ययन गर्दै छ । प्लाज्मा उपचारको निष्कर्ष जतिसक्दो चाँडो सार्वजनिक गर्न मुलुकका अन्य क्षेत्रबाट पनि तथ्याङ्क विवरण सङ्कलन गर्ने तयारी ओर्टिगोजा टिमको छ ।

स्पष्ट उत्तर कहिले प्राप्त होला भन्ने सबैको चासो छ, सेन्ट लुइसस्थित वासिङ्टन युनिभर्सिटीका सङ्क्रामक रोग विशेषज्ञ डा. जेफ्री हेन्डरसनले भन्नुभयो । उहाँले क्लिनिकल ट्रायलहरू अघि बढ्ने विश्वास व्यक्त गर्दै मायो क्लिनिकको प्रतिवेदन सानो सङ्ख्याका बिरामीको तथ्याङ्कमा आधारित रहेको बताउनुभयो ।

शरीरभित्र कुनै नयाँ जीवाणु प्रवेश गरेमा शरीरले यसविरुद्ध लड्न प्रोटिन नामको एन्टिबडी बनाउँछ । यस्तो एन्टीबडी प्लाज्मामा रहेको हुन्छ र यसको रङ पहेँलोपहेँलो र तरल रूपमा हुन्छ । एन्टिबडी निर्माण हुन केही साता लाग्ने भएकाले कुनै व्यक्तिको एन्टिबडी राख्दा बिरामीलाई भाइरसविरुद्ध लड्न मद्दत गर्दछ र त्यसबीचमा व्यक्तिको रोग प्रतिरोधी क्षमता विकास हुन्छ ।

मायोका नतिजालाई वैज्ञानिक अध्ययनका लागि वेबसाइटमा खुला राखिएको छ । कोरोना सङ्क्रमित भएको तीन दिनभित्र उच्च गुणस्तरको एन्टिबडी प्लाज्मा दिइएका व्यक्तिमध्ये २० प्रतिशतको ३० दिनभित्र मृत्यु भएको थियो जब कि न्यून गुणस्तरको एन्टिबडी प्लाज्माबाट उपचार गरिएका ३० प्रतिशतको मृत्यु भएको थियो ।

एफडीएले आपत्कालीन प्लाज्मा उपचार विधिलाई अनुमति दिने वा नदिने भन्ने सम्बन्धमा गहन अध्ययन गरिरहेको जनाएको छ । एफडीएले यसका बारेमा शुक्रबार कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ । कोभिड–१९ बाट निको भएका दसौँ हजार व्यक्तिले प्लाज्मा दान गरिसकेका छन् । संयुक्त राज्य अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै प्लाज्मा दान गर्न मानिसलाई उत्प्रेरित गर्ने क्रम जारी छ । अमेरिकी रक्त सञ्चार केन्द्र सङ्घले एक तिहाइ अस्पतालले अनुरोध गरेको २४ घण्टाभन्दा बढी समयपछि मात्र प्लाज्मा उपलब्ध गराउन सकिएको जनाएको छ । लरेन निरगार्ड/एपी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार