११ मा भर्ना भदौ १५ पछि

राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसको बढ्दो सङ्क्रमणकै अवस्थामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित गरेपछि कक्षा ११ मा भर्नातर्फ विद्यार्थीको ध्यान गएको छ । तर भर्नाको निधो भने भदौ १५ पछि मात्र हुने अधिकारीहरूले बताएका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले सरकारले विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने उद्देश्यले नै सङ्क्रमणबीच नतिजा सार्वजनिक गरेको जानकारी दिनुुभयो । उहाँले भन्नुुभयो, ‘‘भर्नाको निधो भने भदौ १५ पछि मात्र हुुने छ ।’’ सरकारले भदौ १५ गतेसम्म शैक्षिक संस्थामा भर्ना लगायतका प्रक्रिया रोक लगाएको छ ।

विगतका वर्षमा कक्षा ११ को शैक्षिक सत्र साउन १५ बाट मात्रै सुरु हुने भएकाले यस पटक समयका हिसाबले खासै क्षति नभएको दाबी सरकारी अधिकारीहरूले गरेका छन् । यसबाट झन्डै पाँच लाख विद्यार्थीले आफ्नो शैक्षिक सत्र निर्धारित समयमै सक्ने झिनो आशा अझै बाँकी रहेको छ । साविकभन्दा केही ढिला नतिजा प्रकाशन भए पनि अब शैक्षिक गतिविधि नियमित भए विद्यार्थीको शैक्षिक सत्र नै खेर नजाने तर्क गरिएको छ ।

गौतमले कक्षा ११ का विद्यार्थीको हकमा शैक्षिक समस्या नहुने बत(ाउनुभयो । भाइरसको जोखिमका कारण अब दुई तीन महिना ढिला नै कक्षा सुरु भए पनि कक्षा ११ मा अध्ययन गर्र्ने विद्यार्थीलाई कुनै समस्या नहुने उहाँको भनाइ छ । कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको त शैक्षिक सत्र सदुपयोग गर्ने हिसाबले छलफल भइरहेको छ भने कक्षा ११ का विद्यार्थीको हकमा समस्या नहुने जानकारी दिनुभयो ।

यस पटक ११ मा भर्ना हुने विद्यार्थीले नयाँ कक्षामा यसै शैक्षिक सत्रबाट लागू गर्ने भनिएको नयाँ पाठ्यक्रम अध्ययन गर्नुपर्नेछ । सरकारले यसअघि नै नयाँ शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरिसकेको छ ।

सरकारले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको भर्ना, अभिलेखीकरण लगायतका निर्णय भदौ १५ गतेपछि गर्ने भएको छ । कोरोना भाइरसका कारण भदौँ १५ गतेसम्म भर्ना लगायतका सबै प्रक्रिया रोकिएकाले त्यसपछि मात्रै सरकारले निर्णय गर्ने जानकारी निर्देशक गौतमले दिनुभयो । बढ्दो सङ्क्रमणका कारण विद्यार्थीको भर्ना कहिले सुरु हुन्छ भन्ने यकिन गर्न नसकिए पनि केही महिना चिन्ता लिनुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ । तत्काल विद्यार्थी भर्ना नभएको अवस्थामा अनलाइन कक्षा सञ्चालन गर्नसमेत विद्यालयलाई खुला गर्न नसकिने सरकारले स्पष्ट गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आगामी दुई तीन सातासम्म विद्यार्थीको प्रमाणपत्र विद्यालयमा पठाउने गरी तयारी थालेको छ । यसपछि बल्ल विद्यार्थीलाई भर्नाका लागि औपचारिक बाटो खुल्नेछ । बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले आगामी जेठ असारमा विद्यालयले स्वयंले विद्यार्थीको परीक्षा लिने भएकाले विद्यार्थीका लागि अध्ययन गर्ने समय पुग्ने बताउनुभयो ।

११ को नतिजा आएपछि कक्षा १२ मा
यस पटकबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले अब कक्षा १२ मा जानुअघि नै कक्षा ११ उत्र्तीण गरेको हुनुपर्ने नियम बनाएको छ । विद्यार्थीलाई कक्षा ११ उत्तीर्ण भएको परीक्षाफल दिएपछि मात्रै कक्षा १२ मा लैजान मिल्ने गरी नयाँ प्रावधान बनाइएको जानकारी परीक्षा नियन्त्रक खकुरेलले दिनुभयो । शेषकान्त पण्डित /गोरखापत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार