नेकपा एमालेको चुनाव चिन्ह उदाउँदो सूर्य, केपी ओलीकै योजनामा दर्ता भएको ठोकुवा

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद समाधानतर्फ गइरहेको भनिएका बेला निर्वाचन आयोगमा नेकपा एमाले नामको दल औपचारिक रुपमा दर्ता भएपछि नयाँ राजनीतिक तरंग पैदा भएको छ। 

नयाँ दर्ता भएको एमाले पार्टीलाई पहिलेकै एमाले पार्टी र अहिलेको नेकपासँगै मिल्दो हुने गरी चुनाव चिन्ह समेत उदाउदो सूर्य प्रदान भएपछि सत्तारुढ नेकपाको आन्तरिक राजनीतिमा थप आशंकाहरु पैदा भएका छन्।

प्रधानमन्त्री समेत रहेका नेकपाका एक अध्यक्ष केपी ओलीकै सक्रियता र पहलमा पुरानै एमाले दर्ता प्रक्रिया सुरु भएको अर्का अध्यक्ष प्रचण्डले खुलेयाम आरोप लगाएका बेला चुनाव चिन्ह समेत दुरुस्त मिल्ने गरी प्रदान गरिएपछि आशंकामा थप बल पुगेको हो। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एमाले दर्ता भएको र सो पार्टीलाई चुनाव चिन्ह उदाउँदो सूर्य प्रदान गरिएको जानकारी दिनुभयो।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला गत असार दोस्रो हप्ता सन्ध्या तिवारीको नेतृत्वमा एमाले दल दर्ताका लागि निवेदन परेको थियो । आयोगले कसैको दबाब र प्रभावमा नपरी विधिसम्बद ढंगले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर आज उक्त दल दर्ता गर्ने निर्णय लिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो।

गत असार १६ गतेको स्थायी समिति बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा एमाले दर्ताका लागि प्रक्रिया अघि बढाइएको भन्दै अर्का अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमलयातले ओलीको राजीनामा माग्नुभएको थियो ।

जवाफमा ओलीले आफू नेकपाकै अध्यक्ष रहेकोले एमाले दर्ता गर्न आवश्यक नै नरहेको बताउनुभएको थियो । त्यसपछि साउन १० गते आयोजित एक सार्वजनिक कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री समेत रहनुभएका पार्टीका एक अध्यक्ष ओलीको पहल र सक्रियतामा नेकपा एमाले दर्ता भएको आरोप खुलेयाम लगाउनुभएको थियो।

तर प्रचण्डसहितका नेताहरुको यो आरोपलाई ओली पक्षले खारेज गर्दै आएको छ। ओली पक्षीय नेता तथा नेकपाका सांसद महेश बस्नेतले बहुदलीय व्यवस्थामा पार्टी दर्ता भएको विषयलाई अन्यथा लिन आवश्यक नरहेको बताउनुभयो। उहाँले निर्वाचन आयोगमा तत्कालीन माओवादी केन्द्र पनि दर्ता रहेकोले नेकपालाई आवश्यक परे दुवै पार्टीबारे छानबिन गर्न सकिने बताउनुभयो।

सत्तारुढ नेकपामा शक्ति संघर्ष चुलिएका बेला एमाले दर्ता हुनु र निर्वाचन चिन्ह पनि सूर्य राखिनुलाई स्वभाविक रुपमा लिन नसकिने ढंगले चर्चा परिचर्चा भइरहेका छन्। पार्टीको पूर्व माओवादी खेमाका एक प्रभावशाली नेता हरिवोल गजुरेलले पार्टी फुट्ने स्थिति निम्तिएपछिको अवस्थालाई मध्यनजर गर्दै एमाले दर्ता भएको र चुनाव चिन्ह पनि सूर्य लिइएको आशंका आफूले गरेको बताउनुभयो। यसबारे पार्टीमा व्यापक छलफल समेत भएको उहाँले बताउनुभयो ।

राजनीतिक विश्लेषक लोकराज बरालले त झन् प्रधानमन्त्री केपी ओलीकै योजना र निर्देशनमा नेकपा एमाले दर्ता भएको ठोकुवा गर्नुभयो। उहाँले पार्टीमा संकट निम्तिएकाले आफ्नो भविष्य सुनिश्चित गर्न ओलीले एमाले दर्ता गराएको कुरा जगजाहेर भएको विषय रहेको बताउनुभयो।

दुई वर्षअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएपछि नेकपाको जन्म भएको थियो। तर पार्टी भित्रको आन्तरिक शक्ति संघर्षका कारण फुटको संघारमा पुगेका बेला एमाले ब्यूत्याउन खोजिएको चर्चा भइरहेको छ। यद्यपि प्रधानमन्त्री केपी ओलीले पार्टी फुटाउन कसैले नसक्ने बताउँदै आउनुभएको छ ।source: nepalinetwork.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार