प्रहरी कुटपिटका आरोपी छ जना धरौटीमा रिहा

हिमशिखर समाचारदाता
सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–११ तिङला रमितेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छ जना यूवा धरौटीमा रिहा भएका छन् । आइतबार दिउँसो भएको घटनापछि पक्राउ परेका आरोपीलाई जनही पाँच हजार रुपियाँ धरौटीमा बिहीबार छाडिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिनुभयो ।

फोटो : भानुभक्त उपाध्याय/सल्लेरी

कुटपिट आरोपमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–६ का विजय मगर, सोलुदूधकुण्ड नगरपालिका–८ का शेरबहादुर मगर र भिमबहादुर मगर, सोलुदूधकुण्ड नगरपालिका–११ का चन्द्रबहादुर मगर, मोहन कार्की र फुर्वा शेर्पा पक्राउ परेका थिए ।

प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्धा दर्ता गरेर अनुसन्धानका लागि १० दिनको म्याद थप गरेको थियो । तर नेपाली काङ्ग्रेस, पक्राउ परेका यूवाहरुको परिवारका सदस्य तथा आफन्तहरुले प्रहरीले झुटो आरोपमा फसाएको भन्दै विनाशर्त रिहाइको माग गर्दै आन्दोलनको चेतावनी दिएका थिए ।

सोमबारदेखि दबाब कार्यक्रम निरन्तर राखेका पक्ष र स्थानीय प्रशासनबीच मङ्गलबार भएको छलफलपछि यथाशिघ्र कानुनी प्रक्रिया पुरा गरी रिहा गर्ने सहमति भएको थियो । आइतबार दिउँसो साढे तीन बजेको समयमा गस्तीमा हिडेका प्रहरीले रमितेका सन्तोष खड्काको घरमा होहल्ला गरेको सुनेपछि सम्झाई बुझाई गर्दा नमानेको र मादकपदार्थ सेवन गरेका यूवाहरुले प्रहरी सहायक निरीक्षक सरयूग महतो सहितका प्रहरीमाथि कुटपिट भएको प्रहरी प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पक्राउ परेकालाई प्रहरीले हिरासतमै शारीरिक यातना दिएको भन्दै परिवारका सदस्यहरुले प्रहरी परिसर तथा जिल्ला प्रशासन कार्यालय अगाडी नाराबाजी गरेका थिए । प्रहरीले भनेजस्तो घटनाको प्रकृति नभएको प्रत्यक्षदर्शी शर्मिला खड्काले बताउनुभएको छ ।

उहाँकाअनुसार जन्मदिन मनाइरहेको कोठामा सादा पोशाकमा दुई पटक प्रहरी पसेको र तेस्रो पटक प्रहरी पोशाकमा आएर डण्डा बजारेपछि सामान्य झगडा भएको हो । जब प्रहरी आएर टेबलमा डण्डा बजा¥योे अनि, डण्डाले एक जना भाइलाई हिर्काइयो, तब अन्य यूवाहरु प्रतिकारमा उत्रेका हुन् र प्रहरीले डण्डा हान्न थालेपछि भाइहरुले रित्तो क्यान बियरका बोतलले हानेको उहाँको बयान छ ।

यता प्रहरीले हिरासतमा कुनैपनि किसिमको गलत व्यवहार नगरेको स्पष्ट पारेकोे छ । शारिरीक यातना त परको कुरा, कुनैपनि प्रकारको मिसविहेव गरिएको छैन्’ प्रहरी निरीक्षक चौहानले भन्नुभयो । पक्राउ परेका छ जनमा फुर्वा शेर्पा नेपाल तरुण दलका वडा नं. ११ का अध्यक्ष भएकाले यस घटनालाई नेपाली काँग्रेस र नेपाल तरुण दल सोलुखुम्बुले नियोजित घटना भएको भन्दै विनाशर्त रिहाको माग गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार