‘फ्रन्टलाइन’मा खटिने प्रहरीलाई भत्ता गफमै सिमित, मास्क आफैँ किन्नुपर्छ

कोरोना भाइरस संक्रमण नियन्त्रण कार्यमा प्रहरीको भूमिका महत्वपूर्ण छ । कर्तव्यपालनाका क्रममा जोखिम मोलेर दैनिक सडकमा खटिएका प्रहरीहरु संक्रमणको खतरामा छन् । सयौँ प्रहरीमा संक्रमण भइसकेको छ । तर सरकारले भने तिनै प्रहरीको योगदानको उचित मूल्याङ्कन गर्न सकेको छैन ।

सडकमा सवारी व्यवस्थापन होस् वा लकडाउन र निषेधाज्ञा पालना गराउन नै किन नहोस् । नेपाल प्रहरी अग्रपंक्तिमा खटिएका छन् । हामीले काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा खटिएका प्रहरीहरु कोरोना नियन्त्रणका लागि गरेको काम र त्यसका लागि नेतृत्वले गरेको सहयोगका बारेमा कुरा गरेका थियौँ । नेतृत्वको निर्देशन र डरका कारण संचारमाध्यमसँग फिल्डमा खटिएका प्रहरीले कुनै गुनासो व्यक्त गर्न सकेनन् ।

तर अनौपचारिक कुराकानीका क्रममा फिल्डमा खटिदा आवश्यक पर्ने मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सतर्कताका लागि चाहिने सामग्री प्रशासनले उपलब्ध नगराएको गुनासो गरेका छन् । त्यति मात्रै होइन, दिनभरी काम गर्दा राज्यको तर्फबाट खाजापानीकोसमेत व्यवस्था नगरेको उनीहरु बताउँछन् । सिमित साधनस्रोतका बाबजूद चुनौतीलाई साहशका साथ सामना गर्दै आइरहेका प्रहरीहरुप्रति सरकार होस वा प्रहरीकै नेतृत्व उदासिन हुनु दुखद पक्ष हो ।

प्रहरीलाई कोरोना नियन्त्रणको अभियानका क्रममा पुर्याएको योगदानका आधारमा प्रोत्साहन भत्ता दिने चर्चा पनि थियो । तर अहिलेसम्म तलबबाहेक एक रुपैयाँ पनि नपाएको उनीहरुले बताए । उनीहरुको गुनासो सुनेपछि हामीले नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायतसँग कुरा गरेका थियौँ ।

प्रवक्ता कठायतले फिल्डमा खटिएका प्रहरीलाई दैनिक ३ सय रुपैयाँका दरले भत्ता दिनका लागि सरकारले प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिए । कोरोना नियन्त्रणको विभिन्न अभियानमा खटिएका ५१ हजार प्रहरीलाई भत्ता दिने विषयमा गृह मन्त्रालय र अर्थमन्त्रालयबीच समन्यव भने भइसकेको छैन ।

नेपाल प्रहरीमा ७ सय ९५ जनाको भैइरहेको छ । ५ सय ५६ जना निको भएर नियमित काममा फर्किसकेका छन् । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतले बताए ।

कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्न सरकारले जारी गरेको निर्देशिका बमोजिम त्यसको कार्यान्वयनमा खटिएका सुरक्षाकर्मी नै संक्रमित हुने दर बढ्दो क्रममा रहेको छ । कोरोना भाइरसबाट ७ वटै प्रदेशका प्रहरीहरु संक्रमित भएका छन् । लकडाउन कार्यान्वयन, सीमामा खटिएका, अपराध अनुसन्धानमा खटिएका नेपाल प्रहरी र उनीहरूको सम्पर्कमा आएका अन्यलाई कोरोना संक्रमण देखिएको छ ।.reportersnepal

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार