सोलुखुम्बुमा नै बन्यो भालु/बाँदर धपाउने उपकरण

सन्तोष राउत/ सोलुखुम्बु । भालुबाट मकै जोगाउन बारीमै सुत्ने सोलुखुम्बुका लेकाली भेगका किसानले भालु धपाउने उपकरण आफैँले बनाएका छन् । डिभिजन वन कार्यालय सोलुुखुम्बुले भालुबाट हैरान भएका किसानका लागि निश्चित थान उपकरण उपलब्ध गराएपछि त्यसकै आधारमा सोलुदूधकुण्ड नगरपालिका–२ का किसानले पड्काएर भालु तर्साउने उपकरण बनाएका हुन् ।

किसानहरुले भालु धपाउन प्रयोग हुने उपकरण निर्माण गरी सफल परीक्षण समेत गरेको वडाध्यक्ष मिङमारदोर्जी शेर्पाले जानकारी दिनुभयो । पहिलो चरणमा १० वटा उपकरण निर्माण गरिएको शेर्पाले बताउनुभयो । जिल्लाको लेकाली भेगमा यस सिजनमा भालुले मकै सखाप पार्ने गरेको छ ।

वन कार्यालयले उपलब्ध गराएको उपकरणले केही राहत दिए पनि धेरै किसानलाई आवश्यक पर्ने उपकरण स्थानीयस्तरमै बनाउन सफल भएपछि भालुको आतङ्क कम गर्न ठूलो सहयोग पुग्ने वडाध्यक्ष शेर्पाले बताउनुभयो । एउटा उपकरण निर्माणका लागि करिब दुई हजार रुपियाँ खर्च लाग्ने र एक सय घरधुरीलाई उक्त उपकरण वितरण गर्ने योजना रहेको उहाँको भनाइ छ ।

बारीमा भालुबाट मकै जोगाउन सानासाना छाप्रा र त्यसमा टिन झुण्ड्याएर बारीमै जाग्राम बस्ने किसानले उपकरण आफैँले बनाएपछि अब सजिलो हुने बताएका छन् । पहिलो पटक उपकरण पाएसँगै त्यहीलाई नमूना मानेर स्थानीयस्तरमा निर्माण गर्न सफल भएकाले अब भालुले दिने सास्ती कम हुने भन्दै सोलुदूधकुण्ड नगरपालिका–२ वेनीका किसान पाल्देन शेर्पाले खुशी व्यक्त गर्नुभयो ।
डिभिजन वन कार्यलय सोलुखुम्बुले उपकरण निमार्णका लागि आवश्यक कच्चा पदार्थहरु पाइप, कार्बाइडलगायत सबै सामान उपलब्ध गराएको डिभिजन वन कार्यालय सोलुखुम्बुका डिभिजन वन अधिकृत डा.इन्द्रप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

यस उपकरणले भालु, वाँदर तथा अन्य जङ्गली जनावरलाई धपाउन समेत सहज हुने किसानहरु बताउँछन् । जिल्जाका सबै स्थानीय तहका माथिल्लो क्षेत्रमा भालु र तल्लो क्षेत्रमा वाँदर, दुम्सी, मृग, घोरललगायत जङ्गली जनावरले बाली सखाप पर्ने गरेको पाइन्छ ।

वन कार्यालयले केही दिनअघि पहिलो पटक १० थान उपकरण ल्याएर भालुबाट अति प्रभावित क्षेत्रमा वितरण गरेको थियो । जिल्लाका विभिन्न भागमा भालुको आतङ्कले स्थानीयको जनजीवन समेत त्रसित बन्ने र वर्षेनि दर्जनौँ किसान घाइते तथा मृत्यू हुने गरेका छन् ।

कुनै पनि जङ्गली जनवारलाई मार्न वा क्षति पु¥याउन नपाइने भएकाले अन्य वैकल्पिक उपायहरु अपनाएर मात्र बालीको संरक्षण गर्नुपर्ने र बाली नष्ट गरेबापत कुनै क्षतिपूर्ति दिने प्रावधान छैन । मानिसलाई नै क्षति पु¥याएमा भने सगरमाथा राष्ट्रिय निकुञ्जले प्रमाणित गरे बमोजिम घाइतेलाई ५० हजार र मृत्यु भएमा डेढ लाखसम्म क्षतिपूर्ति दिन सकिने कानुनी व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार