सोलुखुम्बुमै पहिलो पटक ‘थाइराइड’ परीक्षण शुरु

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा पहिलो पटक थाइराइडको परीक्षण शुरु भएको छ । सोलुदूधकुण्ड नगरपालिका–५ सल्लेरीमा सञ्चालित सोलु हेल्थ केयर सेन्टरले जिल्लामै पहिलो पटक उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

नगरपालिका–११ तिङलाका ९३ बर्षिय टकबहादुर नेपालीको थाइराइड परीक्षण गरी तथा सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले रिबन काटेर थाइराइड परीक्षण सेवाको शुभारम्भ गरिएको हो । थाइराइडको परीक्षण जिल्लामानै गर्न पाएकोमा बृद्ध नेपालीले खुशी व्यक्त गर्नुभयो ।

सो अवसरमा बोल्दै थाइराइड सेवा विस्तारले जिल्लाबासीलाई ठूलो राहत मिल्ने मेयर शेर्पाले बताउनुभयो । सोलु कम्यूनिटी हस्पिटल निर्माण र सञ्चालनको सपना साकार पार्नका लागि स्थानीय तहले सहयोग गर्ने र बृहत छलफल गरेर अघि बढ्ने प्रतिबद्धता मेयर शेर्पाको छ ।

तीन बर्षदेखि अन्य स्वास्थ्य सेवा प्रदान गर्दै आएको हेल्थ केयरले ढिलोमा पनि २४ घण्टाभित्र थाइराइड रिर्पोट दिने गरी थाइराइड सेवा शुरु गरेको प्रबन्ध निर्देशक डा.राजेन्द्र बस्नेतले जानकारी दिनुभयो । यसअघि थाइराइड परीक्षणका लागि काठमाण्डौ नै पठाउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै जिल्लाबासीका लागि सेवा विस्तार गरेको उहाँको भनाइ छ ।

अबदेखि सल्लेरीमै क्यान्सर, डिम्बाशय, रक्तअल्पता, भिटामिन डि, भिटामिन बि १२, सिपिकेएमवि परीक्षण गर्न सकिने हेल्थ केयरले जनाएको छ । हेल्थ केयरले ६० बर्षमाथिका जेष्ठ नागरिकको ५० प्रतिशत छुटमा उपचार गर्दै आएको छ भने शेर्पा गुम्बामा बस्ने आनी(महिला) र टावा (पुरुष)को उपचारमा २० प्रतिशत छुटमा उपचार गरिरहेको छ । त्यस्तै, विपन्न परिवारका सदस्यहरुको निःशुल्क उपचार समेत गर्दै आएको छ ।

सोलु कम्यूनिटी हस्पिटल निर्माणको लागि सोलु हेल्थ केयर र सोलुदूधकुण्ड यूथ क्लबको सहकार्यमा सोलुदूधकुण्ड नगरपालिका–७ गार्मामा जग्गा खरिद समेत गरिसकिएको छ । अस्पताल निर्माणको पाँच बर्षे योजना सार्वजनिक गरिएको छ भने क्रमशः सेवा विस्तार गर्दै लैजाने र अस्पताल निर्माण तथा सञ्चालनलाई पुर्णता दिने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार