सोलुखुम्बु । सोलुखुम्बुको वाकुमा पहिरो सहित खसेको ढुङ्गाले लागेर तीनजना घाईते भएका छन् । गम्भिर घाईते भएका एक जनालाई हेलिकप्टर मार्फत उद्धार गरी काठ्माण्डौ पठाइएको छ ।
माप्यदूधकोशी गाउँपालिका–६ वाकुको वाप्सामा एक जनाको मृत्यू भएपछि दाहसंस्कार गर्न खोलमा गएको र फर्कने क्रममा बाटोमा करिब ५० मिटर माथिबाट ढुङ्गा खसेर लाग्दा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिनुभयो ।
गम्भिर घाइते हुने माप्यदूधकोशी गाउँपालिका–६ वाकुका ३८ वर्षिय दिलबहादुर रेग्मीमगरलाई हेलिकप्टर मार्फत मङ्गलबार उद्धार गरिएको हो । उहाँको देब्रो खुट्टा, देब्रे हात र टाउकोमा चोट लागेको छ ।
अर्का २५ बर्षिय जीतबहादुर रजानमगरको दाहिने खुट्टा र ढाडमा चोट लागेकाले जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ । २३ बर्षिय मदन मगरको अवस्था भने सामान्य भएकाले घरमै सामान्य उपचार भइरहेको छ ।