सन्तोष राउत/ सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले यही वर्षदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । चालु आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्याक्रममा समावेश गरी नगरपालिकाले कक्षा ५ मा स्थानीय पाठ्यक्रम लागु गर्ने तयारी गरेको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो ।
नगरपालिकाले पाठ्यक्रम निर्माण गरी अहिले वडागत रुपमा सुझाव सङ्कलन समेत सकेको छ । स्थानीय पाठ्यक्रम निर्माण समिति गठन गरी नगरपालिकाले गत वर्षदेखि नै पाठ्यक्रम निर्माण कार्य सुरु गरेको थियो । सोलुखुम्बु बहुमुखी क्याम्पसका प्रमुख उद्धवकुमार शर्माको संयोजकत्वमा गठित पाँच सदस्सीय पाठ्यक्रम निर्माण समितिले पहिलो चरणमा कक्षा ५ का लागि पाठ्यक्रमको मस्यौदा तयार पारेर टोलटोलमा सुझाव लिइरहेको छ ।
गत वैशाख देखिनै पाठ्यक्रम लागू गर्ने तयारी गरिएको भएपनि कोरोना कहरका कारण शैक्षिक संस्था बन्द रहेकाले पाठ्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी कार्यान्वयनका लागि अभिभावक तथा सरोकारवालहरुसँग सुझाव लिने काम अहिले भएको पाठ्यक्रम निर्माण समितिका संयोजक उद्धवकुमार शर्माले जानकारी दिनुभयो । आएका सुझावअनुसार पाठ्यक्रममा छुटेका विषयवस्तुलाई समावेश गर्ने शर्माले बताउनुभयो ।
कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गर्ने योजना बनाएको नगरपालिकाले पाठ्यक्रममा स्थानीय जातजाति, भुगोल, संस्कृति, रहनसहन, भेषभुषा, पर्यटन, आर्थिक, सामाजिक राजनीतिक विषयलाई समावेश गरी एक सय पुर्णाङ्कको पाठ्यक्रम निर्माण गरिएको सोलुदूधकुण्ड नगरपालिकाका शिक्षा शाखा प्रमुख मेघनाथ शर्माले बताउनुभयो ।
राष्ट्रिय पाठ्यक्रममा स्थानीय धर्म, संस्कृति, जनजीवन तथा सम्भावनाका विषय समावेश नहुने भएकाले नेपाल जस्तो विविध भौगोलिक, सांस्कृतिक, भाषिकलगायतका परिवेशका कारण समाजका फरक फरक आवश्यकता र चाहना पूरा गर्न स्थानीय पाठ्यक्रम लागू गर्ने प्रावधान छ ।
केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका विषयवस्तु जसले स्थानीय ज्ञानको प्रस्फुटन गर्दै नवीनतम ज्ञान र सीपको मार्गदर्शन पहिल्याउन स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्न सहयोग गर्दछ । विद्यालय तहसम्म्को शिक्षाको अधिकार स्थानीय सरकार मातहत रहने र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवद्र्धन र स्तरीकरण गर्ने अधिकार व्यवस्था गरेको छ ।
वर्तमान अवस्थामा स्थानीय विषय वा संस्कृत कक्षा १ देखि ३ सम्म ४ पाठ्यभार, कक्षा ४ र ५ मा ४ पाठ्यभार र कक्षा ६–८ मा मातृभाषा वा स्थानीय विषय वा संस्कृत वा अन्य विषय ५ पाठ्यभार र १०० पूर्णाङ्क रहेको छ । हालसम्म नगरक्षेत्र तथा जिल्लाभित्रका विद्यलायहरुले स्थानीय पाठ्यक्रमका नाममा अंग्रेजी विषयलाई शिक्षण गर्ने गरेका छन् ।