सोलुखुम्बु । सोलुखुम्बुमा अधिक रक्तस्रावका कारण एक जना सुत्केरीको मृत्यु भएको छ । महाकुलुङ गाउँपालिकाको छेस्काम स्वास्थ्य चौकीमा शुक्रबार करिब राती दुई बजे छोरी जन्माएकी महाकुलुङ गाउँपालिका–३ की रविमाया कुलुङको ज्यान गएको हो ।
बच्चा जन्माएपछि सुत्केरीको अवस्था बिग्रँदै गएपछि छेस्काम स्वास्थ्य चौकीले प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा रेफर गरेको र थप उपचारका लागि त्यसतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छेस्काम स्वास्थ्य चौकीका इन्चार्ज कविराज पाण्डेले जानकारी दिनुभयो ।
बच्चा जन्मिएको पाँच मिनेटपछि रक्तस्राव शुरु भएको उहाँले बताउनुभयो । विपन्न परिवारकी कुलुङको थप उपचार र उद्धारको प्रयास गर्दा गर्दै बिहान ६ बजे बाटोमा पर्ने पेल्माङ भन्ने स्थानमा ज्यान गएको हो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत पनि हेलिकप्टर झिकाउने कोशिस गरे पनि बचाउन नसकिएको इन्चार्ज पाण्डेले बताउनुभयो । यस पटक दोस्रो बच्चालाई जन्म दिएकी कुलुङको यसअघि पनि एक छोरी छन् ।