सोलुखुम्बुमा ८२ प्रतिशत भूकम्प पीडितले घर बनाए

सन्तोष राउत/ सोलुखुम्बु । भूकम्प गएको पाँच वर्ष पार गर्दा सोलुखुम्बुमा करिब ८२ प्रतिशत भन्दा बढी घर निर्माण भएका छन् । जिल्लाभरी जम्मा लाभग्राहीको सूचीमा १३ हजार ६७३ घर प्रमाणित भएकोमा पुनर्निर्माणतर्फ १२ हजार ४२८ र प्रबलीकरणतर्फ एक हजार २४५ घर रहेका थिए ।

पुनर्निर्माणमा परेका भूकम्प पीडितमध्ये असारको अन्त्यसम्ममा आवास निर्माण सम्पन्न गरी १० हजार २४० पीडितले तेस्र्रो किस्ता रकम लिइसकेका छन्, जुन ८२.३९ प्रतिशत हो । कुल लाभग्राही मध्ये १२ हजार १२२ जनाले जग हाल्नका लागि पहिलो किस्ता बापतको पचास हजार रकम लिएका छन् भने घरको जग निर्माण गरेर ११ हजार ३२ लाभग्राहीले दोस्रो किस्ताको एक लाख पचास हजार रुपियाँ रकम बुझेका छन् ।

प्रबलीकरणतर्फ ९७० लाभग्राहीले काम सम्पन्न गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधारको कार्यालय सोलुखुम्बुका प्रमुख विमलप्रसाद बरालले जानकारी दिनुभयो । हालसम्म आवास पुर्ननिर्माणका लागि करिब ३२ अर्ब २४ करोड रुपियाँ भन्दा बढी रकम निकासा भइसकेको कार्यालयले जनाएको छ ।

आवास पुनःनिर्माणका लागि पहिलो किस्ता बापत पचास हजार रुपियाँ पाउने भुकम्प पीडितले मापदण्डअनुसार घरको जग तयार गरेपछि दोस्रो किस्ता बापत एक लाख ५० हजार रुपियाँ र घर पूर्ण तयार गरेपछि बाँकी एक लाख रुपियाँ पाउने प्रावधान छ ।

यसैबीच, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न समयको प्राधिकरणको निर्णयबाट पनि गैरलाभग्राही भएकाहरुमध्ये पुनरावेदन गर्न चाहनेलाई यही भाद्र १५ सम्म गैरलाभग्राही भएको पत्र बुझी गुनासोकर्ताले जिल्ला आयोजना कार्यान्वयन इकाईमा ३५ दिनभित्र पुनरावेदन गर्न सक्ने अन्तिम मौका दिएको छ ।

पुनरावेदनका लागि उल्लेख्य संख्यामा गुनासोकर्ताले पत्र बुझेको र पुनरावेदन दिने क्रम जारी रहेको प्रमुख बरालले बताउनुभयो । त्यस्तै, प्रवलीकरण लाभग्राहीबाट पुनर्निर्माण लाभग्राहीमा परिवर्तन गर्न चाहनेहरुलाई सम्बन्धित वडा कार्यालयमा निवेदन दिई प्राधिकरणले तोकेअनुसारका सिफारिसहरु तयार गरी निवेदन पेश गर्न पनि आग्रह गरिएको छ ।

त्यस्ता लाभग्राहीले आगामी भाद्र मसान्तसम्ममा सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाईमा निवेदन पेस गर्न सक्नेछन् । हालसम्म अनुदान संझौता गर्न बाँकी लाभग्राहीहरुलाई यही भाद्र मसान्तसम्म अनिवार्य अनुदान संम्झौता गरी पहिलो किस्ता लिन समेत आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार