बृद्ध कुटपिटको आरोपमा सोलुखुम्बुमा तीन जना पक्राउ

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–३ माठुङका ६३ बर्षिय रिन्जी शेर्पालाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

सोलुदूधकुण्ड नगरपालिका–२ स्थित चारघरेमा मरिमराउ कार्यक्रममा विवाद हुँदा शेर्पालाई कुटपिट गरेको आरोपमा तामाखानीका ४० वर्षिय श्याम पुलामी मगर, ३६ वर्षिय मिलन मगर र ४२ वर्षिय मनिष रेग्मी मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिनुभयो ।

उनीहरुलाई सदरमुकाम सल्लेरीमा रहेको सूचनाका आधारमा खोजी गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका आरोपीलाई जिल्ला अदालत सोलुखुम्बुबाट सात दिनको म्याद थपेर अनुसन्धान थालिएको छ ।

मृत संस्कारमा भएको सामाजिक जमघटमा युवाहरूले हाइड्रोको बिषयको विवादबारे बहस गर्न लागेपछि वृद्ध रिन्जी शेर्पाले यस्तो दुःखद कार्यक्रममा यस्ता विवादका कुराकानी नगर्न भनेको र ती युवाहरूले गालिगलोज समेत गरेर एक्कासी कुटपिट गरेको बताइएको छ ।

कुटपिटबाट शेर्पाको अवस्था गम्भीर भएपछि फाप्लु जिल्ला अस्पताल पुर्याएको तर जिल्ला अस्पताल फाप्लुमा उपचार सम्भव नभएपछि थप उपचारको काठमाडौँ लगिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार