फाप्लु अस्पताललाई ११ लाख बढीको औषधी हस्तान्तरण

सन्तोष राउत/ सोलुखुम्बु । सोलुखुम्बुमा विगत लामो समयदेखि स्वास्थ्य र शिक्षाका क्षेत्रमा निरन्तर काम गर्दै आएको हिमालयन ट्रष्ट नेपालले सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुलाई ११ लाख ११ हजार रुपियाँ बराबरको औषधी तथा स्वास्थ्य औजार सहयोग गरेको छ ।

प्रदेश नं १ का सांसद बुद्धिकुमार राजभण्डारीले अस्पताल विकास समितिका अध्यक्ष वीरकुमार राईलाई विशेषज्ञ सेवामा अत्यावश्यक औषधी तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । यसअघि पनि हिमालयन ट्रष्टले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि तीन पटक गरी १५ लाख रुपियाँ बराबरको औषधी सहयोग गरिसकेको छ ।

यस पटक औषधीको अभावका कारण शल्यक्रिया समेत प्रभावित भएपछि अस्पतालको मागअनुसार विशेषज्ञ सेवा प्रवाहका लागि सामाग्री सहयोग गरेको हिमालयन ट्रष्टका जिल्ला संयोजक नवबहादुर भूजेलले जानकारी दिनुभयो । विगत धेरै वर्षयता उक्त अस्पताललाई हिमालयन ट्रष्टले अस्पतालको मागको आधारमा बर्षेनी लाखौँको औषधी, स्वास्थ्य उपकरण तथा चिकित्सक समेत उपलब्ध गराउँदै आएको छ ।

सरकारले उपलब्ध गराउने औषधीले करिब तीन महिना मात्र पुग्ने भएकाले ट्रष्टले दिने औषधीकै भर पर्नुपर्ने बाध्यता रहेको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले बताउनुभयो । उहाँकाअनुसार पछिल्लो समय विशेषज्ञ चिकित्सक समेत अस्पतालमा भएकाले विरामीको चाप बढेकाले औषधी खपत बढेको हो । औषधी हस्तान्तरण कार्यक्रममा सोलुदूधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईको समेत उपस्थिती रहेको थियो ।

यसैबीच, ट्रस्टले सोलुदूधकुण्ड नगरपालिकालाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको छ । सोमबार तीन हजार थान मास्क र १५ लिटर स्यानिटाइजर नगरपालिकाका शिक्षा प्रमुख मेघनाथ शर्मालाई हस्तान्तरण गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार