नाबालक सहित सडकमा अलपत्र सोलुखुम्बुकी महिलाको काङ्ग्रेस नेता कार्कीद्वारा उद्धार

सन्तोष राउत/सोलुखुम्बु । नाबालक छोरा सहित सडकमा अलपत्र अवस्थामा रहेकी सोलुखुम्बुकी एक महिलाको नेपाली काङ्ग्रेसका नेता प्रकाशंिह कार्कीले उद्धार गर्नुभएको छ । कोभिड महामरीको त्रासका कारण घरबेटीले कोठामा छिर्न नदिएपछि सडकमा बस्दै आएकी सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–५ सिम्ले घर भएकी बिमला खालिङ राई नेता कार्कीले तत्कालका लागि बसोबासको सबै प्रबन्ध सहित उद्धार गर्नुभएको हो ।

माप्यदूधकोशी गाउँपालिका माइती भएकी राईलाई नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य डोल्मा तामाङको पहलमा काठमाण्डौको कपनबाट उद्दार गरिएको नेबिसङ्घका नेता दिनराज बास्तोलाले जानकारी दिनुभयो । गएको असारमा लकडाउनका बेला पति रमेश बास्तोलासँग काठमाण्डौबाट नेचासल्यान पुगेकी राई पारिवारिक झगडाका कारण दुई बर्षे छोरो लिएर काठमाडौं फर्किनुभएको थियो ।

राईलाइ घरबेटीले घरमा बस्न नदिएपछि केहीदिन चाबहिलस्थित एक गेष्ट हाउसमा बसेपनि गेष्ट हाउसमा पैसा तिर्न नसकेपछि सडकमा बस्न बाध्य भएपछि बेवारिसे अवस्थामा राईलाई सदस्य तामाङकी आफन्त लक्ष्मी तामाङ राईले खबर गर्नुभएको हो ।

उद्दार गरिएकी राईलाई काङ्ग्रेस नेता कार्कीको भक्तपुरको लोकन्थलीस्थित आफ्नै घरमा क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनु भएको छ । आफ्नै जिल्लाबासी एक महिला यसरी नाबालक सहित बेवारिसे अवस्थामा सडकमा भेटिएपछि तत्कालका लागि आश्रय दिएको नेता कार्कीले बताउनुभयो । क्वारेन्टाइनको अवधि सकिएपछि परिवारको जिम्मा लगाउने वा अन्य विकल्प खोज्ने भन्ने निर्णय लिने कार्कीको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय कार्यकारिणी सदस्य समेत रहनु भएका नेता कार्कीले कोरोनाका कारण जिल्लाबाट राजधानी आएर बस्ने समस्यामा परेका जिल्लाबासीहरुलाई व्यक्तिगत रुपमा राहत उपलब्ध गराउँदै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार