वी.पी. जयन्तीको अवसरमा नेचामा वृक्षारोपण

सोलुखुम्बु । वी.पी.जयन्तीको अवसरमा सोलुखुम्बुको नेचामा नेपाल विद्यार्थी संघ सोलुखुम्बु र स्वतन्त्र विद्यार्थी यूनियन हिमालदर्शन क्याम्पसले संयुक्त रुपमा कायक्रमको आयोजना गरी वृक्षारोपण गरेका छन् । नेचाको हिमाल दर्शन क्याम्पस परिसरमा पाँच किसिमका बिरुवा रोपिएको नेचाबाट शोभितकुमार ढुंगेलले जानकारी दिनुभयो ।

वृक्षारोपणपछि स्ववियू सभाहलमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेपाली काङ्ग्र्रेस नेचासल्यान गाउँपालिकाका सभापति निरकुमार शर्मा कट्टेल आस्था , विश्वास र सैद्धान्तिक समर्पण विनाको नेपाली काङ्ग्र्रेस हुन नसक्ने भन्दै बीपी विचारको अध्ययन ,मनन र जीवनमा प्रयोग गर्न सके मात्र वीपीप्रति सच्चा श्रद्धा हुने बताउनुभयो । गाउँपालिकाले उपलब्ध गराएको खर्च विवरण समितिले अध्ययन गरिरहेको र अध्ययन सकिना साथ पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने उहाँको भनाइ छ ।

स्ववियू सभापति उद्योग राईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल शिक्षक महासङ्घ सोलुखुम्बुका अध्यक्ष लालप्रसाद बास्तोलाले वीपी विचार बिनाको काङ्ग्र्रेस हुनै नसक्ने बताउनुभयो । उहाँले काङ्ग्र्रेस गुट उपगुटमा लागेको भन्दै आगामी अधिवेशनबाट पनि नसुध्रिए अर्को विपी जन्म जयन्ती मनाउने हैसियतमा नपुग्ने धारण राख्नुभयो ।

सोही अवसरमा सामाजिक लोकतन्त्र अध्ययन केन्द्रका सचिव देवेन्द्र शर्मा जमरकट्टेलले वीपी कोईरालाको व्यक्तित्वबारे चर्चा गर्दै श्रद्धा र स्मरणका दृष्टिले तस्बिरमा माल्यार्पण राम्रै भएपनि वैचारिक दृष्टिकोण दिने राष्ट्रवादी नेतृत्वको तस्बिर माल्यार्पण मात्रले टार्ने अवस्था आउनु ठूलो दुर्भाग्य भएकोबताउनुभयो । वीपीको समयको जस्तै सिद्धान्त, विचार र चिन्तनहरूको योजना निर्माण गरी नेपाली भूमि सुहाउँदो विकासको मोडल तयार गर्नु राम्रो हुने उहाँको भनाइ छ ।

गिरिजाप्रसाद कोइराला अध्ययन केन्द्रका अध्यक्ष हेमराज शर्मा कट्टेलले विचारको मात्रै गुट हुने र काङ्ग्र्रेस गुट भन्दा गिरोह ज्यादा सक्रिय रहेको आरोप लगाउनुुभयो । कार्यक्रमका सभापति उद्योग राईले १०७ औं जन्म जयन्तीका अवसरमा गरिएको वृक्षारोपणले रुग्ण हुँदै गएको रूखलाई विस्थापित गरी नयाँ रूखलाई स्थापित गरेर काङ्ग्र्रेसजनमा सुधार र सु–संस्कारको मार्ग देखाउन खोजेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा हिमाल दर्शन क्याम्पसका क्याम्पस प्रमुख वसन्तकुमार शर्मा, नेपाल शिक्षक महासंघ नेचासल्यान अध्यक्ष अशोककुमार शर्मा कट्टेल, वेदनाथ बास्तोला, यादवकुमार फुयाल, गुणराज राउत, टारकुमार आचार्य, हेमराज भट्टराई, बाबुराम भट्टराई, पूजा फुयाल, रोशन राउत लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार