उच्च लगानीमा सुविधा सम्पन्न अस्पताल बन्दै


वितग लामो समयदेखि सञ्चालनमा आएको रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलले लुम्बिनी रोडमा उच्च लगानी सहित सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याउने भएको छ । छ तलाको आफ्नै भवनमा सञ्चालन गर्न लागिएको यो अस्पताल रुपन्देही जिल्लाकै पहिलो उच्च लगानीमा बनेको अस्पताल दाबी गरिएको छ ।

करिब ६० देखि ७० करोड रुपियाँ लागत रहेको भवन अन्तर्राष्ट्रियस्तरको भुकम्पप्रतिरोधी भएकाले जुनसुकै समयमा पनि सेवा दिन सकिने बताइएको छ । अस्पतालमा बिरामीहरुलाई स्टेचरमा गुडाएर लाने र्याम्प र एकै पटकमा दुई वटा स्टेचरका बिरामी लैजाने सक्ने ठुलो विद्युतीय लिफ्ट रहेको छ भने लाइट र भेन्टीलेसन सहितका वार्डहरु रहने छन् ।

बिरामीहरुलाई छिटो, छरिटो सेवा दिनका लागि प्रत्येक विभागलाई कम्प्युटरको माध्यमबाट डिजिटलाइज्ड गरी कागजी प्रक्रिया कम गरिने अस्पताल स्रोतले जनाएको छ । धेरै आकस्मिक बिरामीहरु आउने हुँदा १५ शैयाको आकस्मीक कक्षमा अति सिकिस्त, सिकिस्त र सामान्य गरी तीन किसिममा वर्गिकरण गरी सेवा दिइने बताइको छ ।

अस्पतलमा तीन वटा मोडुलर अत्याधुनिक अपरेशन थिएटर यस क्षेत्रमा नै पहिलो पटक सञ्चालन हुनेछ । यस मोडुलर ओ.टी. मोडुलर आई.सि.यु. मा बिरामीहरुमा संक्रमण तथा जोखिम अत्यन्त कम हुन्छ । पाँच करोड रुपियाँ बाराबरको लागतमा अत्यन्त एड्भान्स ६४ स्लाइस सिटी स्क्यान रहने छ । मुटुका विरामीहरुलाई सेवा दिनका लागि जर्मनमा निर्मित मेसिन द्धारा इको, टिएमटी, होल्टर÷मोडुलर सिसियू सञ्चालन हुने छ ।

मोडुलर ओ.टी.मा न्युरो, हाड जोर्नी, सामान्य सर्जरी, महिला सम्बन्धी सम्पूर्ण अपरेशन हुनेछ । मोडुलर आई.सि.यु जर्मनमा निर्मित स्तरीय भेन्टीलेटर तथा मोनिटर रहने छ । बिरामीको सहजताका लागि घरायसी वातावरण भएको वातानुकुलीत सुविधा सम्पन्न क्याविनहरु बनाइएको छ ।

अस्पताल नजिकै अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी भएकाले विदेशी पाहुनाहरुको सहजताको लागि १८०० स्क्वायर फिटको अन्तर्राष्ट्रिय कम्पलेक्स रहेको छ । जसमा ओ.पि.डी., अब्जरवेसन बेड र २ वटा होटल जस्टै स्विट रुम क्याविन रहेको छ । स्थानीयस्तरका ख्याती प्राप्त केही डाक्टरहरु र काठमाडौंका ख्याती प्राप्त अस्पतालका अनुभवी डाक्टरहरुबाट विशेष किसिमको सेवा सञ्चालन गरिने अस्पताल सञ्चालकको दाबी छ ।

नेपाल सरकारको नयाँ निर्देशिका तथा मापदण्ड अनुरुप सञ्चालनमा आउने अस्पताको एक सय बेड रहने छ । प्युठान, अर्घाखाची, गुल्मी, पाल्पाका पहाडी क्षेत्र, कपिलवस्तु, नवलपरासी, रुपन्देही र भारतीय सिमानाको ३० देखि ४० कि.मी.भित्रका बिरामीहरु यसको मुख्य सेवा क्षेत्रभित्र पर्दछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार