पहिरोले महाकुलुङमा एक घर पुरियो, चार घर उच्च जोखिममा

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ नाजिङमा लगातारको वर्षाका कारण पहिरो जाँदा एक घर पुरिएको छ भने आसपासका चार घर उच्च जोखिममा रहेका छन् ।

सांकेतिक तस्बिर ।

स्थानीय जितकुमार राईको घर भन्दा एक सय मिटर माथिबाट बिहीबार विहान करिब साढे आठ बजे पहिरो झर्दा ढुङ्गा माटोले बनेको दुई तले घर पुरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

घरमा भएका खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत सबै सामान पुरिएको हो । पहिरोबाट एउटा करिब ५० केजी तौलको सुङ्गुर पुरिएको छ भने मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सोही पहिरोका कारण आसपासमा रहेका स्थानीय जसवीर राई, हर्कजीत राई, भिमकुविर राई र रामकुमार राईको घर पहिरोको उच्च जोखिममा परेकाले सुरक्षित स्थानतर्फ सार्ने पहल भइरहेको प्रहरी निरीक्षक दर्नालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार