कोरोना शंकास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन कांग्रेसको आग्रह

काठमाडौं । नेपाली काँग्रेसले शंकास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय अविलम्ब फिर्ता लिन आग्रह गरेको छ । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इन्सिडेण्ट कमाण्ड सिस्टमले शंकास्पद मृत्यु भएको व्यक्तिको कोरोना परीक्षण नगर्ने निर्णय गरेको थियो ।

शंकास्पद मृत्यु भएका ब्यक्तिको कोरोना परिक्षण नगर्ने सरकारको पछिल्लो निर्णय अत्यन्तै गलत भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा विहीबार जारी विज्ञप्तिमा उल्लेख छ । निर्णय तत्काल फिर्ता लिएर गहिरो विश्लेषण र गम्भीर सुझबुझका साथ मात्रै यस्ता संवेदनशील बिषयमा निर्णयमा पुग्न सरकार र सम्बन्धित निकायलाई काँग्रेसको आग्रह छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कसैलाई संक्रमण छ र छैन व्यापक परिक्षण गर्नु र उ बाट अन्यमा सर्न नदिन सम्पूर्ण सतर्कता राख्नु राज्यको प्रथम दायित्व हो । तर यो अवधिमा कयौंले जीवित छंदै आफ्नो स्थिति बारे पूर्व सूचना पाएनन्, मृत्यु पश्चात् मात्रै कोरोना पुष्टि भएको कयौं विवरण सार्वजनिक भए । मृत्यु पछि मात्रै पीसीआर ? भनेर भएका आलोचना अन्त्य गर्न सरकारको पछिल्लो निर्णयले एक हदसम्म सघाउला तर जिम्मेवार राज्यले नागरिकको आलोचनाबाट जोगिने उपायको खोजिमा होइन कोरोनाबाट नागरिकलाई जोगाउने रणनीतिको विकासमा आफुभित्र योग्यता र सक्षमताको खोजी गर्न जरुरी हुन्छ ।’

शंकास्पद मृत्युमा कोरोना परिक्षण नगर्ने निर्णय गरिरहंदा त्यससँग गांसिएका गम्भीर सैद्धान्तिक र ब्यवहारिक प्रश्न नजरअन्दाज नगर्न काँग्रेसले ध्यानाकर्षण गराएको छ । ‘शंकास्पद मृत्यु भएका ब्यक्तिको परिक्षण गरिनु झनै जरुरी हुन्छ । आफ्नो परिवारको सदस्यको मृत्यु हुनुको वास्तविक कारण थाहा पाउनु नागरिकको अधिकारको कुरा हो,’ शर्माले भने, ‘आफ्नो नागरिकको मृत्युको एकमात्र पनि घटना र कारणलाई शंकास्पद स्थितिमा रहन दिनु जिम्मेवार राज्यको परिचय होईन । राज्यले कुनै पनि बहानामा यो दायित्वबाट पन्छिन मिल्दैन ।’

मृत्युपछि शंकास्पद स्थिति कायम राखिदिँदा अन्यौल र फरक ढंगको मानसिक तनाव बढेर जाने शर्माले बताए । परिक्षणबाट मृतकमा संक्रमण पुष्टि भए निकटस्थहरुको परिक्षण गरेर अरुलाई बचाउने कर्तव्य राज्यले भएको काँग्रेसले भनेको छ । ‘शंकास्पदको परिक्षण नगर्दा त्यो दायित्वबाट राज्य विमुख रहने स्थिति बन्दछ । पछिल्लो निर्णयले सरकारलाई त्यो दायित्वबाट विमुख रहन जरुर सघाउने छ तर परिवारजनलाई तनावबाट मुक्त हुन किमार्थ सघाउँदैन,’ विज्ञप्तिमा भनिएको छ ।

शंकास्पद मृत्युको परिक्षणबाट रिपोर्ट नेगेटिभ आए मृत्युपछिको एक अर्को मानसिक तनावबाट परिवारजन मुक्त हुने उनको भनाइ छ । शंकास्पद मृत्युको परिक्षण नगर्ने सरकारको नीतिले कोरोनाबाट मृत्युको तथ्यांक कम देखाउन सरकारलाई सघाए पनि मृत्युको बढ्दो गति रोक्न नसक्ने शर्माले बताए ।

‘सरकारको शक्ति र रणनीति मृत्युको तथ्यांक लुकाउनमा प्रयोग गर्ने कि मृत्युको गति नियन्त्रण गर्न प्रयोग गर्ने ? जिम्मेवार सरकारको कर्तव्य के हुनुपर्दछ ?,’ शर्माको प्रश्न छ ।-nepalinetwork.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार