हिमशिखर समाचारदाता/ सोलुखुम्बु । नेपाली काङ्ग्रेस थुलुङदूधकोशी गाउँपालिका कार्य समितिको बैठक गाउँपालिकाको केन्द्र मुक्लीमा सम्पन्न भएको छ ।
गाउँपालिका कार्य समितिका सभापति महेन्द्रदिप राईको सभापतित्वमा भएको बैठकले गाउँपालिकास्तरको सङ्गठन नौ वटै वडामा बिस्तार गर्ने र भातृ तथा भगिनी संस्थाको बिस्तार असोज महिनाभरीमा गर्ने निर्णय गरेको बैठकमा सहभागी काङ्ग्रेस नेता भानुभक्त उपाध्यायले जानकारी दिनुभयो । बैठकले गाउँपालिकास्तरीय विभागहरु गठन गर्ने निर्णय गरेको छ ।
काङ्ग्रेसले गाउँपालिकाको २०७६÷७७ को आय व्ययको विवरण माग गर्ने तथा महत्वपूर्ण आयोजनाहरुको अध्ययन गर्ने भएको छ । शुरुदेखिको आय व्यय र कोरोनाको लागि भएको खर्च तथा त्यसको प्रभावकारिता विश्लेषण गरी सार्वजनिक गर्ने जनाएको छ ।
गाउँपालिकामा आफ्नो पार्टीबाट जितेका जनप्रतिनिधिहरु उपाध्याक्ष सबिता राई, वडा अध्यक्षहरु फुर्तिमान तामाङ, घनराज सुनुवार नातिकाजी गुरुङलगायतले गाउँपालिकामा भएका विविध गतिविधि तथा प्रवक्ताबाट राजिनामा दिएको विषयमा जानकारी गराएका थिए ।
गाउँपालिकामा विधि र प्रक्रियाबाट भ्रष्टाचार भएको, बेरुजु धेरै रहेको, केही कृषि कार्यक्रम अन्तरगत ठूलो बजेट खर्च गरेर पकेट, जोनको हवाला दिँदै नीतिगत भ्रष्टाचार गरेको, धेरै बिषयमा बाहिर भ्रम सिर्जना गरी अनियमितता गरेको काङ्ग्रेसले आरोप लगाएको छ ।
बैठकमा पार्टीको आन्तरिक बिषयमा अन्य विविध बिषयमा छलफल बताइएको छ । बैठकमा स्थानीय तथा जिल्लास्तरका नेता तथा कार्यकर्ताहरु, नौ वटै वडाका वडा सभापति, कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, गाउँपालिकास्तरका भातृसंगठनका प्रतिनिधिहरुलगायत काङ्ग्रेसका स्थानीय अगुवा नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।