सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले कोरोना कहरका बीचमा सेवा प्रवाहमा खटिने स्वास्थ्यकर्मी तथा कार्यालय सहयोगीलाई प्रोत्सहान भत्ता प्रदान गरेको छ ।
गार्मा स्वास्थ्य चौकी गार्माका हेल्थ असिस्टेन्ट सुवास तामाङले भन्नुभयो, जिल्लामानै पहिलो पटक जोखिम भत्ता पाउँदा म र म जस्तै स्वास्थ्यकर्मी उत्साहित भएका छौँ, यस्तो महामारीका समयमा पनि ज्यानै जोखिममा राखेर काम गरेको र यसलाई नगरपालिकाले भत्ता प्रदान गरेकाले थप उर्जा मिलेको छ ।
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्र भागमा खटिने नगरपालिकाभित्रका ५२ स्वास्थ्यकर्मी र १५ कार्यालय सहयोगीलाई एक महिनाको प्रोत्साहन भत्ता प्रदान गरेको हो । हेल्थ डेस्कमा खटिएका स्थास्थ्यकर्मीलाई यातायात र खाजा खर्च समेत नगरपालिकाले उपलब्ध गराएको छ ।
स्वास्थ्यकर्मीले दुई महिनाको जोखिम भत्ता माग गरेको भए पनि नगरपालिकाले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई मासिक रुपमा पाउने तलबको ५० प्रतिशत र कार्यालय सहयोगीलाई मासिक तलबको २५ प्रतिशत प्रोत्साहन भत्ता प्रदान गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चमर मगरले जानकारी दिनुभयो ।
नगर क्षेत्रभित्रका ५२ स्वास्थ्यकर्मीलाई सात लाख १७ हजार ६० रुपियाँ र कार्यालय सहयोगीहरुलाई करिब एक लाख ४३ हजार रुपियाँ जोखिम भत्ता प्रदान गरेको स्वास्थ्य प्रमुख मगरले बताउनुभयो । उहाँकाअनुसार अन्य क्षेत्रका कर्मचारी लकडाउनका बेला घरमै बस्दा पनि स्वास्थ्यकर्मी चौबिसै घण्टा जनताको सेवामा खएिकाले भत्ता दिँदा हौसला मिल्ने बताउनुभयो ।
कोभिड १९ को महामारीमा पनि जनताको सेवामा खटिएका स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन भत्ताको व्यवस्था गरेको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो । कर्मचारीको मनोबल उच्च राख्दा मात्र जनताको काममा सहज हुने उहाँको भनाइ छ ।
आठ वटा स्थानीय तह भएको जिल्लमा स्वास्थ्यकर्मीलाई जोखिम भत्ता प्रदान गर्ने सोलुदूधकुण्ड नगरपालिका जिल्लाको पहिलो स्थानीय तह बनेको छ ।