होमस्टे सञ्चालनको अन्तिम तयारीमा थुलुङदूधकोशी गाउँपालिका

सन्तोष राउत/सोलुखुम्बु । हिमाली पर्यटनका लागि मुख्य गन्तव्यका रुपमा चिनिएको सोलुखुम्बुको सबै भन्दा ठूलो थुलुङदूुधकोसी गाउँपालिकाले होमस्टे (घरवास) कार्यक्रम शुरु गर्न लागेको छ । सोलुखुम्बुको तल्लो क्षेत्रमा समूदायस्तरमा पहिलो पटक होमस्टे सञ्चालनमा आउन लागेको हो ।

स्थानीय मौलिक परम्परा, संस्कार, सस्कृती, भेसभूषा, रहनसहन तथा खानपिनको संरक्षण तथा प्रचारप्रसार गर्दै आन्तरिक तथा वाह्य पर्यटनलाई प्रवद्र्धन गर्ने र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउनका लागि यो कार्यक्रम शुरु गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

हाल पाहुना कक्ष, करेसाबारी, शौचालय, खानेपानी जस्ता आधारभूत पूर्वाधार निर्माण तथा व्यवस्थापनका लागि होमस्टे सञ्चालनका लागि छनोटमा परेका २४ घरलाई प्रतिघर ४५ हजार रुपियाँ आर्थिक सहयोग हस्तान्तरण गरेको अध्यक्ष राईले बताउनुभयो । सरकारकातर्फबाट थप हौसलाका लागि सानो सहयोग भएको अध्यक्ष राईको भनाइ छ ।

होमस्टेका लागि छनौटमा परेका घरलाई स्याङ्जाको शिरुवारी तथा लमजुङको घले गाउँका होमस्टेमा स्थानीय समाजसेवी बलराम गुरुङको आर्थिक सहयोगमा अध्ययन अवलोकन भ्रमण गराइसकेको उहाँले बताउनुभयो । भ्रमणपछि सञ्चालकहरुले धेरै कुरा सिकेको र उत्साहित भएको बताएका छन् ।

माथिल्लो एउटा गाउँपालिकामा सीमित हिमाली पर्यटन बाहेक जिल्लाको तल्लो क्षेत्रमा कृषि, धार्मिक, साँस्कृतिक, पर्या पर्यटनको धेरै सम्भावना भएकाले यसले पर्यटन प्रबद्र्धनमा ठूलो टेवा पुग्ने मुक्ली चारघरेका यूवा दिनेशकुमार राईले बताउनुभयो । होमस्टे सञ्चालनबाट स्थानीयलाई रोजगारीमा सहयोग पुग्ने र आयस्रोत वृद्धि गर्दै गाउँपालिकालाई समृद्ध बनाउन मद्दत गर्ने उहाँको अपेक्षा छ ।

तयारी अन्तिम चरणमा भएकाले दशैँअघि सञ्चालनमा ल्याउने बताइएको छ । प्रभावकारी सञ्चालनका लागि व्यवस्थापन समिति बनाइएको छ । सबै भन्दा राम्रो सेवा प्रदान गर्ने एक जनालाई वार्षिक रुपमा पुरस्कृत गरिने अध्यक्ष राईको भनाइ छ ।

आफ्नो गाउँमा होमस्टे सञ्चालन गर्न पाउँदा धेरै खुशी लागेको बताउने होमस्टे सञ्चालक धनरुपा राईले करिब ९० प्रतिशत तयारी पूरा भइसकेको जानकारी दिनुभयो । पाहुनालाई स्थानीयस्तरमा उपलब्ध सबै अर्गानिक उत्पादन खुवाउने तथा पाहुनालाई अधिकतम सन्तुष्ट पार्ने प्रयत्न रहने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार