नेपाल निजामती कर्मचारी युनियन (संघ) सोलुखुम्बुले बुझायो ज्ञापनपत्र

सन्तोष राउत/सोलुखुम्बु । सरकारले कोभिडको बहनामा आधिकारिक ट्रेड युनियनको निर्वाचन सारेको भन्दै नेपाल निजामती कर्मचारी युनियन (संघ) सोलुखुम्बुले ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, सिंहदरवारमा ज्ञापनपत्र बुझाएको युनियनका जिल्ला सचिव भीष्मराज जोशीले जानकारी दिनुभयो ।

नेपाल सरकारको निर्णयानुसार निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियनको दोस्रो निर्वाचन यही असोज २४ गते तोकी सम्पूर्ण जिल्ला र विभागीय इकाईहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा नेपाल सरकार मन्त्रीपरिषदको असोज ६ गतेको निर्णयले निर्वाचन हठात बिना कारण र सरोकारवालासँगको कुनै छलफल बिना आगामी मङ्सिर २७ गते गराउने निर्णय गरेकोमा नेपाल निजामती कर्मचारी यूनियन (संघ) आश्चार्य चिकत र स्तब्ध भएको भन्दै ज्ञापनपत्र बुझाएको हो ।

देशभर निषेधाज्ञा जारी रहँदा निर्वाचन घोषणा तथा प्रमुख निर्वाचन अधिकृतलगायतको मनोनयन भइसकेको अवस्थामा अहिले सबै कर्मचारीहरुलाई कार्यालयमा उपस्थित हुन र निषेधाज्ञा पनि हटेको सन्दर्भमा सरकारले बदनियत राखेर निर्वाचन स्थगित गरेको आरोप लगाउँदै पेशागत संगठनका रुपमा आफ्नो प्रतिनिधि चयन गर्ने अवसरले उत्साहित आम कर्मचारी बिना कारण निर्वाचन सार्दा दुखित भएको विज्ञप्तीमा उल्लेख छ ।

नेपाल कर्मचारी युनियन (संघ) सोलुखुम्बुका उपाध्याक्ष खेमराज खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘निजामती क्षेत्रमा समेत लोकतान्त्रिक पद्धतिमा आँच आउने कार्य कहीँकतैबाट हुनु हुदैन् । कसैको आन्तरिक समस्याबाट निर्वाचन स्थगित हुने कारण बन्न दिनु हुदैन् र सरकारले शक्तिको उन्मादमा राज्यसत्ताको दुरुपयोग गर्नु हुदैन् । निर्वाचन रोकिनु विधिको शासन विपरित र लोकतान्त्रिक मूल्यमान्यता विपरित कार्य हो । प्रमुख निर्वाचन अधिकृतको कार्यालय र प्रमुख निर्वाचन अधिकृतसँग राय सुझाव नलिई गरिएको निर्णय लज्जास्पद र अस्वभाविक छ ।’

निर्वाचनमा पछिल्लो समयमा लोक सेवा आयोगबाट सिफारिस भई राष्ट्रिय कितावखानामा पद दर्ता रहेका र स्वास्थ्य, संसद सेवालगायतका कर्मचारीहरु समेतलाई निर्वाचनमा भाग लिन पाउने व्यवस्था मिलाई निर्वाचनको प्रक्रिया अबिलम्ब सारिएको मितिमा गर्न गराउन संघले नेपाल सरकारसँग माग गरेको छ ।

संघले निर्वाचनको विकल्प फेरी पनि निर्वाचन भएकोले लोकतान्त्रिक मान्यता र संस्कार अनुरुप अविच्छिन्न उत्तराधिकारवाला आधिकारीक ट्रेड यूनियनको कानूनी कार्यकाल समाप्त भई सकेकोले सारिएको मितिमा निर्वाचनको ग्यारेन्टीको माग गर्दै सारिएको मितिमा पनि कुनै पनि बाहानामा चुनाव स्थगन वा पुनः मिति सारिएमा नेपाल निजामती कर्मचारी यूनियन (संघ)ले गर्ने विरोध र सरकारले निर्वाचन विरुद्ध भए गरेका सरकारी निर्णय विरुद्ध हुने कार्यक्रमबाट पर्ने असरको जिम्मेवारी सरकार स्वंयम्ले व्यहोर्नु पर्ने चेतावनी दिएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस सम्बद्ध कर्मचारी युनियन (संघ)का अध्यक्ष गोपाल पोखरेलले कोभिडलाई कारण देखाउँदै आधिकारिक ट्रेड युनियनको चुनाव रोक्नु लोकतन्त्रमाथिकै प्रहार भएको टिप्पणी गर्नुभएको छ । ‘हामी त लोकतन्त्रमा विश्वास गर्छौं । चुनाव जित्ने भनेको डेमोक्रेसीको जीत हुने हो,’ संघका अध्यक्ष पोखरेलले भन्नुभयो ।

संघले बुधबार रिपोर्टर्स क्लब नेपालमा गरेको पत्रकार सम्मेलनमा चुनाव सार्ने कुरा कुनै पनि हिसाबले ठीक नभएको र नेकपाको आन्तरिक लडाईं नमिलेको कुरालाई कोभिडको बहाना बनाएर चुनाव सार्ने काम गर्नु घातक काम भएको उहाँको आरोप छ ।

प्रजातन्त्रवादीको जीत हुन्छ भनेर सत्तारुढ निकट कर्मचारीका नेताहरु डराएको दाबी गर्दै उहाँले अन्तिम अवस्थामा कोभिडको कारण देखाएर चुनाव स्थगित गर्नु भनेको लज्जास्पद कुरा भएको बताउुनुभयो । युनियन संघले सबै प्रदेश कार्यसमितिहरु, जिल्ला कार्यसमितिहरु र विभागीय कार्यसमितिहरुलाई समेत आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित सम्बन्धमा जरुरी परिपत्र जारी गर्दै विना कारण निर्वाचन स्थगित गरिएकोमा सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन निर्देशन दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार