सिटौलाले पौडेललाई साथ नदिने, निधिको आफ्नै दाउ

नेपाली काँग्रेसको राजनीतिमा आज गुट उपगुटको सक्रियता एकसाथ देखिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी केन्द्रीय कार्यालयमा १४ औं महाधिवेशन स्वच्छ र निष्पक्ष ढंगले तोकिएको मितिमै गराउन मागपत्र दर्ता गरायो । सभापति शेरबहादुर देउवा गुटका प्रभावशाली नेता उपसभापति विमलेन्द्र निधि यहीबीच राजनीतिक भेटमा व्यस्त भए ।

निधिले आज काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासँग भेटवार्ता गरे । उनले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने भन्दै त्यसका लागि सहयोग गर्न सिटौलालाई आग्रह गरेको बुझिएको छ । त्यसअघि उनले काँग्रेसका चिन्तकका रुपमा चिनिने प्रदीप गिरीसँग भेटवार्ता गरेका थिए । गिरीसँग पनि आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने विषयमा छलफल गरेका थिए ।

काँग्रेसभित्र एकै साथ देखिएको यो सक्रियताले नयाँ संकेतहरु गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले शक्ति प्रदर्शन गरेका छन् । उनले आफूनिकट पदाधिकारीसहित २६ केन्द्रीय नेताहरु लिएर तोकिएको मितिमा महाधिवेशन स्वच्छ र निष्पक्ष तरिकाले गर्न वातावरण बनाउन मागपत्र दर्ता गर्नु अर्थपूर्ण छ । तर, उक्त मागपत्र दर्ता गर्ने कार्यक्रममा सिटौला पक्ष सहभागी भएनन् ।

सिटौला पक्षका नेता भीमसेनदास प्रधानले आफूहरुको अलग धारणा रहेको बताए । रिपोर्टर्स नेपालसँग प्रधानले आफूहरुले अलग्गै ढंगले विगतबाट नै प्रस्तुत भएकोले पौडेल पक्षको पार्टी केन्द्रीय कार्यालयमा पत्र दर्ता गर्ने कार्यक्रममा नगएको बताए । यसबाट सिटौला गुट अझै सक्रिय रहेको सन्देश गएको छ । उक्त गुटमा भीमसेनदास प्रधानसहित प्रभावशाली नेताहरु गगन थापा र प्रदीप पौडेललगायत छन् ।

काँग्रेसभित्र सिटौलाको सक्रियताले नेतृत्वको प्रतिष्पर्धामा असर पर्ने देखिएको छ । विगतमा सिटौलाकै भूमिकाका कारण पौडेल सभापतिमा पराजित भई देउवा विजयी भएका थिए । तर, यसबीच सिटौला कमजोर भएको पौडेल पक्षको दाबी छ । केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सिटौलाको हैसियतमाथि नै प्रश्न गरेका छन् । उनी सिटौलालाई पार्टीभित्र कुनै ठुलो शक्ति मान्न तयार भएनन् । सिटौलाकै कारण महाधिवेशनमा त्यति ठुलो असर नपर्ने उनको भनाई छ ।

एकातर्फ सिटौलाले आफ्नो गुटलाई बलियो बनाउन खोजेका छन् । अर्कोतर्फ पौडेल पक्षले सिटौलालाई कुनै शक्तिशाली गुट मान्न छाडेको छ । बरु काँग्रेसभित्र विमलेन्द्र निधि नयाँ गुटका साथ उठ्न थालेका छन् । यसले आगामी महाधिवेशनमा ठुलै फरक ल्याउन सक्छ ।-रिपोर्टर्स नेपाल डट कमबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार