१९ औँ सत्याग्रहको १८ औँ दिनमा आइपुग्दा सरकारले डाक्टर गोविन्द केसीलाई अनसन फिर्ता लिन आग्रह गरेको छ । अहिले कोभिड–१९ ले मुलुक संकटमा रहेकोले अनसनका लागि उपयुक्त समय नरहेको पनि सरकारले डा. केसी र उहाँका समर्थकलाई स्मरण गराएको छ ।
मन्त्रिपरिषदका पछिल्ला निर्णयहरु सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले अनसन बस्ने उपयुक्त समय नरहेकोले अनसन फिर्ता लिएर कोभिडविरुद्धको अभियानमा जुट्न आग्रह गर्नुभयो ।
डा. केसीले उठाउँदै आउनुभएका अधिकांश माग पूरा हुने चरणमा रहेको दाबी गर्दै मन्त्री ज्ञवालीले थप केही भए पछि छलफल गर्न सकिने तर अहिले अनसन, बेला सुहाउँदो विषय नरहेको बताउनुभयो ।
यता १८ औँ दिनमा आएर बल्ल डा. केसीको १९ औँ सत्याग्रहबारे टिप्पणी गरेको सरकारले अनसनका लागि समय सुहाउँदो बेला नरहेको बताएपछि प्रमुख विपक्षी कांग्रेसले आक्रोश व्यक्त गरेको छ ।
संवादमार्फत लोकतान्त्रिक चरित्र देखाउनुको साटो अनसनका लागि समय सुहाउँदो बेला नरहेको टिप्पणी गरेको भन्दै कांग्रेसले आपत्ति प्रकट गरेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीका मागहरु कोरोनासँग पनि सम्बन्धित रहेको कुरा सरकारले बिर्सन नमिल्ने बताउनुभयो । उहाँले सरकारका लागि समय सुहाँउदो भ्रष्टाचार मात्रै त होइन होला भनेर व्यङ्ग्य गर्नुभयो ।
‘डा केसीको अनसन समय सुहाउँदो भएन भन्ने सरकारले लोकतान्त्रिक चरित्र सुहाउँदो व्यवहार प्रस्तुत गर्नु नपर्ने ? समय सुहाउँदो चैँ भ्रष्टाचार ? ढिलासुस्ती ? वेथिति ? अव्यवस्था’, ट्विटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै शर्माले भनेका छन्, ‘ डा केसीलाई शब्द प्रहार होइन संवादबाट माग पूरा गर्ने लोकतान्त्रिक संस्कार देशले पर्खिरहेको छ ।
डा. केसीका माग जायज भए पनि अहिले अनसन बस्ने र सडकमा समर्थकहरु उचालेर कोरोनाको जोखिम बढाउने विषय उचित होइन भन्नेहरुको जमात पनि सानो छैन ।
तर १८ पटकको सत्याग्रहलाई सत्ताले धोका दिएका कारण डा. केसीले १९ औँ पटक सत्याग्रह सूरु गरेको नागरिक अगुवा सुरेन्द्र भण्डारीले बताउनुभयो । उहाँले अहिलेको सरकारले डा. केसीका माग पूरा गर्ने कुनै लक्षण नदेखाएको बताउनुभयो ।
डा. गोविन्द केसी चिकित्शा शिक्षा सुधारको माग राखेर लामो समयदेखि अनसन आन्दोलनमा हुनहुन्छ । उहाँका मागहरु पूरा गर्ने भन्दै सहमति गर्ने सरकारले त्यसको पालनामा ध्यान नदिएको आरोप लाग्ने गरेको छ ।
अचम्म त के छ भने सत्तापक्षकै अधिकांश नेताहरु डा. केसीका माग गलत छन् भनेर भन्न सक्दैनन् । त्यसो भए उहाँका माग किन पूरा हुँदैनन् ? सिंगो मुलुक प्रश्न गरिरहेको छ ।-नेपाली नेटवर्क