सोलुखुम्बुका अधिकांस विद्यालयमा धमाधम पढाई

सन्तोष राउत/सोलुखुम्बु । कोरोना कहरका कारण नयाँ शैक्षिक सत्रको शुरुदेखि बन्द रहेका सोलुखुम्बुका विद्यालयमा धमाधम पठनपाठन सुरु हुन थालेको छ । कतिपय पालिकाको आग्रह तथा विद्यालयकै निर्णयमा पठनपाठन सुचारु हुन थालेको हो ।

जिल्लाको एक नगरपालिका सहित आठवटै पालिकाका आधिकांस विद्यालयहरु वैकल्पिक विधिबाट सञ्चालनमा आएको शिक्षा विकास तथा समन्वय इकाईका सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार पालिकास्तरमै सल्लाह गरेर पढाई हुन थालेको जानकारी आएको छ ।

प्रायः विद्यालयहरु आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा आएको पाइएको छ । सदरमुकाममा रहेको सोलुदूधकुण्ड नगरपालिकाका शिक्षा शाखा संयोजक मेघनाथ शर्माकाअनुसार विद्यालयले सुरक्षा मापदण्ड अनुसार सिकाई सहजीकरणको काम गर्न थालेको छ । विद्यालयले खुलेको भन्दा पनि धेरै विद्यार्थी भएको विद्यालयमा जोरबिजोरका आधारमा थोरै विद्यार्थी बोलाएर पठनपाठन भइरहेको र थोरै विद्यार्थी भएका विद्यालयमा सबै विद्यार्थी बोलाएर सिकाई सहजीकरण हुन थालेको उहाँले बताउनुभयो । नगरपालिकाले विद्यालय सञ्चालन गर्नु नभनेको भन्दै वैकल्पिक प्रक्रियाका रुपमा पठनपाठन भएको उहाँको भनाइ छ ।

छ महिनादेखि बन्द विद्यालय खुलाउने कुनै निश्चित नभएको र शिक्षक विद्यार्थी संघीय सरकारको निर्देशन कुरेर बस्दाबस्दा हैरान भएपछि संघीय सरकारले भने अनुसारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै पढाउँदै गर्न थालेको सोताङ गाउँपालिकामा सञ्चालित विरेन्द्रज्योति माध्यामिक विद्यालयका प्रधानाध्यापक महाप्रसाद फुयाँलले बताउनुभयो । हालसम्म कोरोना संक्रमित पनि नदेखिएकाले पालिकागत रुपमा प्रधानाध्यापकहरुको बैठकले निर्णय गरेर पालिकाभरी सञ्चालन गरेको जानकारी दिनुभयो ।

त्यस्तै, खुम्बुपासाङल्हमू गाउँपालिकामा पनि सबै विद्यालयमा पठनपाठन हुन थालेको गाउँपालिकाका शिक्षा अधिकृत रचना मैनालीले जानकारी दिनुभयो । थुलुङदूधकोशी गाउँपालिकाले पनि महिनाको शुरुदेखिनै विद्यालय सञ्चानल गरेको जनाएको छ । महाकुलुङ गाउँपालिका, माप्यदूधकोशी गाउँपालिकामा पनि विद्यालय सञ्चालनमा आएका छन् ।

नेचासल्यान गाउँपालिकाले असोज १४ गतेबाट पठनपाठन सुरु गरेको शिक्षा अधिकृत माधवमणि ढुङ्गानाले जानकारी दिनुभयो । गाउँपालिका शिक्षा समितिको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै भौतिक संचरना र समय विद्यालय आफैँले मिलाएर थोरै संख्यामा सिकाइ सहजीकरण गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

दुर्गम हिमाली जिल्ला भएकाले टोलटोलमा समूह बनाएर पठनपाठन गर्न असम्भव जस्तै हुने भएकाले थोरै संख्यामा विद्यालयलाई मूल सिकाइ केन्द्र बनाएर पढाउन उपयुक्त हुने देखिएकाले विद्यालयमा नै पढाइ भएको विद्यालयहरुले बताएका छन् । अधिकांश पालिकाले प्रधानाध्यापकको बैठकबाट पठनपाठन गर्ने निर्णय गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार