खाद्यान्न पाएपछि जेष्ठ नागरिक र अपाङ्ग हर्षित

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुकी ९३ वर्षिया वृद्धा काण्डी शेर्पाले भन्नुभयो, खाद्यान्न पाउँदा धेरै खुशी लागेको छ, बुढेशकालमा सहयोग गर्नेको राम्रो होस् । उहाँले वडा नं. १ भरीका जेष्ठ नागरिक र क र ख वर्गका अशक्त अपाङ्गलाई खाद्यान्न वितरण गरेपछि उहाँ जस्ता दर्जनौँ वृद्धवृद्धाहरु खुशी भएका हुन् ।

अल्ट्रा म्याराथन ओलम्पिकका विश्व च्याम्पियन धावक दाछिरी दावा शेर्पाद्वारा खोलिएको ‘एशोसिएसन दावा शेर्पा पारानिस एण्ड मारानिस पोर्ली नेपाल’ संस्थाद्वारा कोरोना कहरले असर परेका विपन्न वडा भरीका १३१ जना जेष्ठ नागरिक तथा अशक्त अपाङ्गलाई खाद्यान्न वितरण गरिएको हो ।

खाद्यान्न पाएपछि टाक्सिन्दुकै किर्तिमानी आरोही बाबुछिरी शेर्पाका ८४ वर्षिय लाक्पा शेर्पाले खाद्यान्न पाएपछि धेरै राहात भएको बताउनुभयो । कोरोनाले ढुवानी पनि सहज नभएको तथा हामी जस्ता नसक्ने बुढाबुढीलाई खाद्यन्न सहयोग पाउँदा दैनिकी सहज हुनेछ, उहाँले भन्नुभयो । अर्की ८३ वर्षिया वृद्धा पशी शेर्पाले पनि चामल पाएपछि नाच्दै धन्यवाद दिनुभयो ।

टाक्सिन्दुको टाग्गोन सेन्डुप थर्लिङ गुम्बाका औतारी लामा टुल्कु ङवाङ थर्चेन रिम्पोछेले प्रमुख अतिथिको रुपमा राहत वितरण गर्दै यो एकदमै धर्मको काम भएको बताउनुभयो ।

त्यस्तै, वडा अध्यक्ष छोङ्बा लामा शेर्पाले गाउँका गरिब तथा निम्न आर्थिक अवस्था भएका जेष्ठ नागरिक तथा अशक्तलाई यो महामारीको समयमा सहयोग गर्ने काम सह्रानीय भएको बताउनुभयो । उहाँले नजिकिँदै गरेको दशैँमा जिल्ला बाहिरबाट आफन्त आउँदा संक्रमण भित्रिनेतर्फ संकेत गर्दै गाउँमा आएकाहरुको जानकारी वडा कार्यालयलाई दिन स्थानीयलाई आग्रह गर्नुभयो ।

रहात वितरण गर्ने संस्थाका अध्यक्ष फुछिरिङ शेर्पाले यस अघि विभिन्न सामाजिक काम गरिरहेको जानकारी दिँदै अहिले कोरोनाको महामारीको समयमा पहिलो प्राथमिकता खाद्यान्न भएकाले सदरमुकामबाट केही दुर्गममा रहेको टाक्सिन्दुमा खाद्यान्न वितरणको गरिएको जानकारी दिनुभयो ।

अधिकाँस जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरु परिवारका सदस्यको भरमा जिविकोपार्जन गर्नुपर्ने अवस्थामा महामारीका कारण परिवारका सदस्यको समेत कामधन्दा बन्द भएको अवस्थामा मानवीयताको हिसाबले सहयोग वितरण गरिएको उहाँले बताउनुभयो । खाद्यान्न वितरण गरिएका अधिकांश वृद्ध र अशक्तहरु गरिब तथा विपन्न रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा नगर कार्यपालिका सदस्य सरिता राई, संस्थाका कोषध्यक्ष लक्ष्मण राई, स्थानीय विद्यालयका शिक्षकहरु, स्थानीय अगुवा लगायतको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार