तरुण दल सोलुखुम्बुले बुझायो जिल्ला प्रशासानमा ज्ञापन पत्र

सन्तोष राउत/सोलुखुम्बु । नेपाल तरुण दल सोलुखुम्बुले विभिन्न माग राखी जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा ज्ञापन पत्र बुझाएको छ । नेपालीहरुको चाडपर्व नजिकिँदै गरेको बेला कालोबजारी, अत्यधिक मूल्य वृद्धि, कृतिम अभाव, प्रयोग गर्न अयोग्य एवम् गुणस्तरहीन खाद्यवस्तुहरुको विक्री वितरणलगायतका विकृति बढिरहेका बेला तत्काल बजार अनुगमन तथा निगरानी बढाएर नियन्त्रणको माग गरिएको छ ।

नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोककुमार झाद्वारा हस्ताक्षरित ज्ञापन पत्र मार्फत चाडपर्वको बेला समाजमा लुटपाट, चोरी, झगडालगायतका घटना हुने भएकाले त्यसतर्फ समयमानै सजकता अपनाएर भरपर्दो शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

त्यस्तै, कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न स्वास्थ्य मापदण्ड अपनाएर यातायात तथा बजार क्षेत्रमा कडा निगरानी बढाउन आग्रह गर्दै चाडपर्वका बेला दैनिक उपभोग्य बस्तुहरुको सर्वसुलभ विक्रीका लागि सबै स्थानीय तह तथा वडाहरुमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन ज्ञापन पत्रमा भनिएको छ ।

यसैबिच, तरुण दलले पत्तालेदेखि फाप्लुसम्म विभिन्न डेढ दर्जन स्थानमा कोभिड–१९ बाट बच्ने सन्देस सहित दशैँको शुभकामना ब्यानर राखेको छ । साथै सल्लेरीका विभिन्न १० सार्वजनिकस्थलमा हात धुनका लागि धारा सहितको पानीको ड्रम राखेको अध्यक्ष झाले जानकारी दिनुभयो । कोरोनाबाट सुरक्षित रहनका लागि हात धुने व्यवस्था गरिएको उहाँको भनाइ छ । यससँगै तरुण दलले मास्क तथा स्यानिटाइजर समेत वितरण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार