सोलुखुम्बुमा निर्वाचित वडा सदस्य काङ्ग्रेसमा प्रवेश


सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–६ का वडा सदस्य काले शेर्पा नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुभएको छ । सल्लेरीमा आयोजित एक कार्यक्रममा तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडा सदस्य शेर्पा काङ्ग्रेस प्रवेश गर्नुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टीमा रहेका शेर्पाले नेकपा सरकारले जनताको मनोभावनाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै काङ्ग्रेको विचार धारा मन परेर प्रवेश गरेको बताउनुभयो । वडा सदस्य शेर्पालाई सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले खादा सहित सदस्यता प्रदान गरी पार्टी प्रवेश गराउनुभएको हो ।

मेयर शेर्पाले वर्तमान सरकार कार्यकर्ता मात्रलाई पोस्दै भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै जनताले अपेक्षा गरेअनुसार काम गर्न नसकेको र देशमा बलत्कार, हत्या, हिंसा जस्ता अपराधका दोषीलाई कानुनी दायरामा ल्याउन नसकेको बताउनुभयो । शेर्पाले काङ्ग्रेसभित्र रहेको गुट उपगुटको अन्त्य गरी एक ढिक्का बनाएर लैजान पार्टी नेतृत्व सक्षम रहेको दाबी समेत गर्नुभयो ।

कार्यक्रममा सोलुदूधकुण्ड नगर सभापति दावागेलु पाख्रिनले सत्तापक्षले काम गर्न नसकिरहेका बेला सत्ता बाहिर रहेर काङ्गे्रसले जनताको भावना मर्न नदिने बताउनुभयो । कार्यक्रममा सोलुदूधकुण्ड नगरपालिकाकी कार्यपालिका सदस्य गान्धिमाया तामाङ, सोनामग्याल्जेन शेर्पा, काङ्ग्रेस नेतृ टंकीमाया बस्नेत, दलित संघ सोलुखुम्बुका अध्यक्ष कर्णबहादुर विश्वकर्मालगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार