न्याय माग्दै नेपाल दलित संघ सोलुखुम्बुको ध्यानाकर्षण

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाभित्र विभिन्न मितिमा चरणवद्ध ढङ्गले विभिन्न हत्या, हिंसा, जातीय विभेद र छुवाछुतका सामाजिक अपराध बढिरहेको तर पीडितले न्याय नपाएकोप्रति नेपाल दलित संघ जिल्ला कार्यसमिति सोलुखुम्बुले ध्यानाकर्षण गराएको छ ।
जिल्ला प्रशासन कार्यालयसम्म ¥याली सहित जनप्रतिनिधि समेततको टोलीले सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो । दलितमाथि भएका हत्या, हिंसा, जातीय विभेद तथा छुवाछुत जस्ता जघन्य र घृणित सामाजिक अपराध हुँदा समेत सम्बन्धित निकायले न्याय नदिलाएकाले निष्पक्ष छानविन गरी दोषीलाई कानुनी कारबारी गर्नु पर्ने पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझाउँदै नेपाल दलित संघका जिल्ला अध्यक्ष कर्णबहादुर विश्वकर्माले सदरमुकाममै बसोबास गर्ने दलितहरु सुरक्षित नहुनुले ग्रामिण भेगमा बसोबास गर्ने दलितको सुरक्षाप्रति प्रश्न चिन्ह खडा भएको बताउनुभयो । सोलुदूधकुण्ड नगरपालिका–५ सल्लेरीको मुगामाया हत्या काण्ड एक वर्ष भइसक्दा पनि अनुसन्धान मै छ भने वडा नं. ११ तिङला र ९ सिसाखोलामा जातीय विभेद तथा छुवाछुत सम्बन्धीका दुई वटा घटना भएका छन् ।
घटनाप्रति प्रशासन र प्रहरी गम्भिर नभएकै कारण चरणबद्ध रुपमा अपराध दोहोरिएको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले बताउनुभयो । घटनामा संलग्न अपराधी पहिचान भए पनि सामान्य कारबाहीपछि धेरौटीमा छाड्नुले अपराधिक घटना अझै बढिरहेको मेयर शेर्पाको भनाइ छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी आचार्यले बरु कुर्सी छोड्ने तर अपराधिक क्रियाकलापमा लागेका व्यक्तिलाई नछोड्ने बताउनुभयो । साथै आफु रहेसम्म जिल्लामा यस्ता घटना घट्न नदिने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार