विद्यालयलेनै सेनिटरी प्याड उत्पादन गर्न थाल्यो

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको गार्मा माध्यमिक विद्यालयले घरेलु छात्राहरुका लागि महिनावारी हुँदा प्रयोग हुने सेनिटरी प्याड उत्पादन तथा वितरण सुरु गरेको छ । बजारमा पाइने तयारी प्याड भन्दा घरेलु सेनेटरी प्याड प्रभावकारी हुने भएकाले विद्यालयले वातावरणमैत्री, स्वास्थ्यमैत्री तथा कम खर्चिलो पुनः प्रयोग गर्न मिल्ने प्याड उत्पादन सुरु गरेको विद्यलायले जनाएको छ ।

वितरण कार्यक्रमका अवसरमा बोल्दै सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले प्रत्येक विद्यालयमा पुनः प्रयोग गर्न मिल्ने कपडाको सेनेटरी प्याड उपलब्ध गराउने बताउनुभएको छ । किशोरी विद्यार्थीको स्वास्थ्य अवस्था र वातावरणलाई मध्यनजर गर्दै हरेक विद्यालयमा कपडाको सेनेटरी प्याड उपलब्ध गराउने मेयर शेर्पाले बताउनुभयो । नगरपालिकाले सेनेटरी प्याडका लागि बजेट समेत व्यवस्थापन गरेको शेर्पाको भनाइ छ ।

कार्यक्रममा नगरपालिकाकी उपमेयर कल्पना राईले बजारमा पाइने सेनेटरी प्याडमा केमिकल मिसावट गरिएका कारण किशोरीलाई असर पर्ने भएकाले कपडाको प्याड धोएर पुनः प्रयोग गर्नका लागि समेत उपयोगी भएको बताउनुभयो ।

गार्मा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नगर कार्यापालिका सदस्य सोनामग्याल्जेन शेर्पाले गार्मा माविमा जिल्लामै पहिलो पटक सेनेटरी प्याड उत्पादन गरी वितरण गर्न सफल भएको बताउनुभयो । उहाँले गार्मा माविले छिमेकी विद्यालयलाई पनि प्याड उत्पादन तथा वितरण गर्ने र उत्पादन गर्न चाहेमा तालिम समेत दिन सकिने बताउनुभयो ।

प्रध्यानाध्यपाक विनोदसिं तामाङले नगरपालिकाले बजारमा सेनेटरी प्याड किनबेचमा निधेष लगाएकाले विद्यार्थीले समस्या झेल्नुपरेको बताउँदै एक लाख ५० हजार रुपियाँको लागतमा मेसिन गरिद गरी दुई विद्यार्थी र एक शिक्षिकालाई तालिम दिएर उत्पादन तथा वितरण सुरु गरिएको बताउनुभयो ।

कार्यक्रममा गार्मा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी विनु तामाङले सेनेटरी प्याड प्रयोगका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा सोलुदूधकुण्ड नगरपालिकाका कार्यपालिका सदस्य गान्धिमाया तामाङ, विद्यालयका किशोरी, शिक्षक लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार