प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भ्रष्टाचारको फायल खोल्न र कारबाही गर्न सिंगो देशको माग रहेको कुरा उठाएका छन् । आज सामाजिक सञ्जाल ट्विटरमार्फत प्रवक्ता शर्माले वाईडबडी, ओम्नी, बालुवाटार जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस, गोकर्ण रिसोर्टदेखि लडाकुको राशनसमेतमा गहिरो छानबिन र कडा कारबाही अघि बढाउन सार्वजनिक दबाब बढाउनुपर्ने धारणा राखेका छन् ।
उनले लेखेका छन्,‘भ्रस्टाचारका फायल खोल्न र कार्वाही गर्न सिंगो देशको माग छ l वाइड बडि,ओम्नि, बालुवाटार, प्रीन्टिङ प्रेस,गोकर्ण रिसोर्ट अनि लडाकुको राशन समेत l गहिरो छानबिन र कडा कार्वाही अघि बढाउन सार्वजनिक दबाब बढाऔं ! बुढिगण्डकीमा रास्ट्रघातबारे गत मंसिरको भिडियो वक्तव्य यस्तो थियो !”
पछिल्लो समय जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनामा ९ अर्ब भ्रष्टाचार भएको र यसमा केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालको संलग्नता रहेको भनेर दाबी गरेपछि विवाद चुलिएको छ । कांग्रेसले सार्वजनिक रुपमै भट्टराईलाई उक्त आरोप पुष्टि गर्न खुल्ला चूनौति दिएको छ । तर, भट्टराईले भने यसको लागि अधिकारसम्पन्न जनलोकपाल गर्न माग गरेका छन् । उनले हिजोमात्रै ट्विटरमा लेखेका छन्,‘बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ!”-reportersnepal.com