कञ्चनपुरको पुनर्वास नगरपालिका–९, ख गाउँका गरिब र भूमिहीन परिवारमा जन्मेका थिए गोविन्द विक। बाल्यकालमै बुबा गुमाएका गोविन्द परिवारका माहिला सन्तान हुन्। उनी पढाईमा अब्बल र क्षमतावान् भएकाले उनका दुई भाइले मजदुरी गरेर गोविन्दलाई पढाए।
‘तीन भाइ मध्येको सबैभन्दा क्षमतावान र अब्बल भएकाले गोविन्दलाई पढाउनमै पूरै परिवार मजदुरीमा होमियो,’ गोविन्दका जेठा दाजु रमेश बिकले भने,‘अब सुखका दिन आए भन्ने सोचेका थियौँ, तर हाम्रो साहारा नै खोसियो।’
दुई कठ्ठा ऐलानी जमिनमा सानो छाप्रो बनाएका गोविन्दका दाजु, भाउजू, आमा, भाइ र श्रीमती तथा छोराछोरीहरु ख गाउँमै बस्छन्। आफू र कान्छो भाइ मिलेर शाहुको एक बिघा जमिन अधियाँ खेती गर्दै आएका छन्। अधियाँबाट पनि परिवारलाई वर्षभरि खान नपुगेको बताउँदै रमेशले भने,‘हाम्रो साहारा भनेकै भाइ गोविन्द थियो।’
गोविन्दकी पत्नी पूजा पेट सम्बन्धी बिरामी थिइन्। उनलाई उपचारका लागि धनगढीमा डेरा गरेर गोविन्दले राखेका थिए। घटनासँगै उनी विक्षिप्त बनेकी छिन्। उनको अवस्था नाजुक भएपछि आफन्तले आइतबार नै पुनर्वासस्थित घरमा पुगाएका छन्।
उनको मात्रै नभई दमको रोगी रहेकी गोविन्दकी ५० वर्षीया आमा कलावती पनि घटना सुनेदेखि बेहोस छिन्। ‘भाइ बुहारी एकातिर विक्षिप्त छिन्,’ दाजु रमेशले भने,‘उता दमको रोगी रहेकी आमाको अवस्था के हुने भन्ने चिन्ताले पिरोलेको छ।’ असई गोविन्दले केही महिना अघि प्रहरी निरीक्षक पदका लागि दरखास्त दिई शारीरिक तथा मेडिकल जाँचको परीक्षा दिइसकेका थिए।
‘घुस खाएको भए ज्यान जान्थेन’
जागिरे बनेको थोरै अवधि भए पनि उनको क्षमता र कार्यशैली देखेर संवेदनशील मानिने नाका जुगेडाको अस्थायी प्रहरी पोष्टमा जिम्मेबारी पाएका थिए। धनगढीको जुगेडा नाका तस्करी हुने मध्येको मुख्य र संवेदनशील नाका मानिन्छ। दुई देशका तस्करहरुको सञ्जालले यो नाकाबाट वर्षौदेखि तस्करी गर्दै आइरहेको स्थानीय बताउँछन्।
तीन महिना अघिमात्रै सरुवा भएर आएर गोविन्दका लागि यो नाकामा तस्करी कडाइ गर्नु नै अभिसाप बन्यो। केही दिन अघि मात्रै भाइसँग कुरा गर्दा गोविन्दको भनाई उदृत गर्दै रमेशले भने,‘जुगेडामा धेरै तस्करी हुने रहेछ, म यसलाई नियन्त्रण गर्न लागेको छु भनेर सुनाएको थियो।’ मेरो भाइ इमान्दार भएर तस्करबाट पैसा नलिएर तस्करी रोक्न खोज्दा ज्यान गुमाएको उनको भनाइ छ।नागरिक दैनिकबाट