
लोकसेवा आयोगले यही कात्तिक १६ गतेदेखि हुने भनिएका सम्पूर्ण लिखित परीक्षा स्थगन गरेको छ। कोरोना महामारीका कारण परीक्षामा सहभागी हुने उम्मेदवारमा सिर्जना भएको भय र आयोगका कर्मचारीमा पनि संक्रमण पुष्टि भएका कारण परीक्षा स्थगन गरिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ।
आयोगले नयाँ मापदण्ड ल्याएर कार्यतालिकाअनुसार परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। तर, कोरोना संक्रमित परीक्षामा सहभागी हुन नपाउने मापदण्ड बनाइएपछि त्यसको आलोचना भएको थियो। आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्डमा रहेको संक्रमितले परीक्षामा समोवश हुन नपाउने व्यवस्थालाई निलम्बन गर्ने निर्णय गरेको छ।
सर्वोच्च अदालतको असोज २९ को अन्तरिम आदेशबमोजिम लोकसेवा आयोगको संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७७ को बुँदा ८(१) कार्यान्वयन नगर्न, नगराउन भनी लेखी आएकोले उक्त व्यवस्था निलम्बन गर्ने निर्णय गरिएको जनाइएको छ। यो निर्णयसँगै संक्रमितले पनि परीक्षा दिन पाउने बाटो भने खुलेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



