कोरोनाको ‘हटस्पट’ काठमाडौं

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७४ हजार नाघेको छ । यसमध्ये काठमाडौं जिल्लामा मात्र ६० हजारमाथिमा संक्रमण भेटिएको छ ।

पछिल्लो समय बढ्दै गएको संक्रमणका कारण उपत्यका जोखिममा परेको छ ।

देशभर हाल ३८ हजार ३ सय ५७ सक्रिय संक्रमित छन् । तीमध्ये काठमाडौं उपत्यकामा मात्र १९ हजार ७७२ जना रहेका छन् । यो संख्या देशभर कुल सक्रिय संक्रमित संख्याको ५१ प्रतिशतभन्दा माथि हो ।

हाल काठमाडौं जिल्लामा मात्र १६ हजार २४२ जना सक्रिय संक्रमित छन् । यस्तै, ललितपुरमा दुई हजार ३४५ र भक्तपुरमा एक हजार १६५ जना रहेका छन् ।

हालसम्म काठमाडौं उपत्यकामा ७४ हजार ९९१ जनामा संक्रमण देखिएको छ । जसमा सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा रहेका छन् ।

काठमाडौंमा हाल ६० हजार ७४२ जनामा संक्रमण देखिइसकेको छ भने ललितपुरमा आठ हजार ५९९ जना र भक्तपुरमा पाँच हजार ६५० रहेका छन् ।

साउन महिनायता उपत्यकामा ७४ हजार संक्रमित थपिएका छन् । भदौ अन्तिमसम्म संक्रमितको संख्या ११ हजार रहेकोमा असोज अन्तिममा ५१ हजार नाघेको थियो । असोजदेखि कात्तिक १४ गतेसम्म भने यो संख्या ७४ हजार नाघेको छ ।

उपत्यकामा पछिल्लो दुई सातामा २३ हजार संक्रमित थपिएका छन् । उपत्यकामा डेढ महिनाभित्रमात्र ५८ हजारमा संक्रमण देखिएको छ ।

तर, यो संख्या सरकारले सबै व्यक्तिको परीक्षण नगर्ने जनाएपछि कम देखिएको हो । आफ्नै खर्चमा परीक्षण गराउन जानेको संख्या कम छ ।

संक्रमितको संख्या बढेपनि उपत्यकामा ५४ हजार ९०६ जनाले कोरोना संक्रमण जितेका छन् । तीमध्ये काठमाडौंमा ४४ हजार २८८ जना रहेका छन् ।

कोरोनाका कारण काठमाडौं उपत्यकामा मात्र ३३३ जनाले ज्यान गुमाएका छन् । जसमा काठमाडौंमा मात्र २१२ जना रहेका छन् ।

उपत्यकामा दुई साताको अवधिमा मात्र १०० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

संक्रमणको रफ्तार हेर्दा आगामी दिन यो अझै आक्रामक ढंगले बढ्ने निश्चित छ । अब पनि सुरक्षा सावधानी नबढाउने हो भने भोलिका दिन झनै कष्टकर बन्नसक्ने देखिन्छ ।-imagekhabar.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार